नांगो सरकारले दलितमाथि नांगो हस्तक्षेप गरेको भन्दै अर्धनग्न प्रदर्शन

नांगो सरकारले दलितमाथि नांगो हस्तक्षेप गरेको भन्दै अर्धनग्न प्रदर्शन
तस्बिर : नयाँपत्रिका

काठमाडौं : संघीय सरकार, प्रदेश सरकार र विभिन्न संवैधानिक निकायको नियुक्तिमा दलित समुदायलाई संवैधानिक व्यवस्था बमोजिम समानुपातिक प्रतिनिधित्व दिनुपर्ने माग राख्दै दलित अभियन्ताहरूले अर्धनग्न प्रदर्शन गरेका छन्।

शनिबार ३८ दिनदेखि शरीरमा नेल लगाएर काठमाडौंको माइतीघरमा दिनभर धर्ना दिइरहेका दलित अभियन्ता खगेन्द्र सुनारको नेतृत्वमा सडकमा आएका युवाहरूले समान प्रतिनिधित्वको माग राख्दै अर्धनग्न भएर विरोध प्रदर्शन गरे। 

माइतीघरबाट अर्धनग्न भएर बानेश्वरसम्म गरिएको प्रदर्शनका क्रममा ‘संविधान बन्यो दलितलाई खै!’ , ‘लोकतन्त्र आयो दलितलाई खै!’ लगायतका नाराहरू लगाइएका थिए।

अर्धनग्न प्रदर्शन बारे प्रस्ट्याउदै अभियन्ता सुनारले भने, ‘नांगो सरकारले दलितमाथि नांगो हस्तक्षेप गरेको छ र दलितलाई पनि उनीहरूले पाउने अधिकारबाट बञ्चित राखेर नंग्याइएको छ। राज्यको अवस्था यो छ भनेर देखाउन हौं। राज्यलाई पनि लाज घिन भन्ने भएन। नांगो राज्यको दलित पनि नांगा छौं भन्ने सन्देश दिन खोजेका हौं।’

खगेन्द्र सुनारले आजको प्रदर्शन असोज ३ को तयारी रहेको भन्दै त्यस दिन ठूलो संख्यामा दलित युवाहरू काठमाडौं आउने र सरकारलाई झकझक्याउने बताए।

उनले मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानून, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै शरीरमा नेल लगाएर प्रदर्शन गरिरहेका छन्।  

भदौ २८, २०८१ शनिबार १९:१६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।