अब सरकारको तर्फबाट पाउने सुविधामा घुस खुवाउनु पर्दैन, कतै भनसुन गर्न जानु पर्दैन : प्रधानमन्त्री

अब सरकारको तर्फबाट पाउने सुविधामा घुस खुवाउनु पर्दैन, कतै भनसुन गर्न जानु पर्दैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा भ्रष्टाचारका काण्ड सुन्न नपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले नेपाललाई अब नयाँ ढंगले अघि बढाउन चाहेको भन्दै भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्ने दावी गरे।

प्रधानमन्त्री ओलीले फाइल रोकेर एक ठाउँमा बस्ने कुरा सह्य नहुने भन्दै कुन ठाउँमा फाइल गएर अड्कियो भन्ने कुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने बताए। त्यसका लागि फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्रयाकिङ राखेको उनको भनाई छ। 

प्रधानमन्त्री कार्यालयले त्यसको अनुगमन गर्नसक्ने भन्दै उनले परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पना अघि बढाइएको बताए।

ओलीले भने, ‘अब ठूलाठूला भ्रष्टाचारका काण्ड आदि इत्यादि, साना ठूला केही सुन्नपर्ने छैन। फाइल रोकेर एक ठाउँमा बस्ने कुरा हुने छैनन्। फाइल फटाफट सर्छ। अहिले हामीले एउटा सिस्टम विकास गरेका छौँ, एक ठाउँबाट सुरू भएको फाइल कहाँनेर पुगेको छ र कहाँ बसेको छ भन्ने प्रधानमन्त्री कार्यालयले थाहा पाउँछ। त्यो हामीले फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेका छौँ। सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनुपर्ने छैन। कतै भनसुन गर्न जानुपर्ने छैन। त्यस प्रकारको परिपाटी हामी बिस्तार गर्दै छौँ।’ 

भदौ २८, २०८१ शनिबार १८:११:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।