अघिल्लो दिन ‘शी लिड्स आइकन’ बन्न फेसबुकबाट भोट मागेकी थिइन्, भोलिपल्ट जिप दुर्घटनासँगै अस्ताइन्

अघिल्लो दिन ‘शी लिड्स आइकन’ बन्न फेसबुकबाट भोट मागेकी थिइन्, भोलिपल्ट जिप दुर्घटनासँगै अस्ताइन्

काठमाडौं : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कृष्ट महिला जनप्रतिनिधिमा जिताउन फेसबुकमार्फत भोट मागेकी थिइन्। 
 
तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका-२ मा भएको जिप दुर्घटनासँगै सधैँको लागि समाप्त भयो। 

आमाको खुट्टाको उपचारपछि घर फर्किँदै गरेकी बुढाले आफ्नी आमासँगै दुर्घटनामा ज्यान गुमाइन्। 

आमाको खुट्टाको उपचारपछि एकसाता लामो काठमाडौं बसाइ सकेर रुकुम पूर्वतर्फ फर्कँदै गर्दा बागलुङको गलकोटमा भएको जिप दुर्घटनामा ३३ वर्षीया उपाध्यक्ष बुढा र उनकी आमा ६१ वर्षीया गोपीमाया बुढाको ज्यान गएको हो। 
    
उनीहरूसँगै सोही गाउँपालिका–२ का वडाअध्यक्ष जसबहादुर श्रीपालीको पनि घटनास्थलमा मृत्यु भएको थियो। 

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडेलले गाउँपालिकाको जिप रुकुम पूर्वतर्फ जाँदै गर्दा अनियन्त्रित भएर भुङ्खानीको भिरमा खसेको थियो।

सूचना अधिकारी पौडेलले भने, 'उहाँ शी लिड्स आइकनको उत्कुष्ट महिला जनप्रतिनिधिमा छनौट हुनुभएको थियो, शी लिड्स आइकनको टप २७ मा छनौट भएपछि उहाँले सामाजिक सञ्जालमा भोट माग्दै काठमाडौंबाट घरतर्फ लाग्नुभएको रहेछ।

प्रतिस्पर्धामा देशभरका उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो। 

अनलाइन मतका आधारमा उत्कृष्ट छानिने उक्त आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि शर्टलिस्टमा छनोटमा परेका थिए। तर, उक्त सूचीबाट एकजनाको सङ्ख्या शुक्रबारबाट घटेको छ।

दुर्घटनामा जिपचालक रुकुम पूर्व भूमि गाउँपालिका–३ निवासी २९ वर्षीय प्रेमबहादुर पुन गम्भीर घाइते भएका छन्। उहाँको टाउकोमा गम्भीर चोट लागेपछि धौलागिरि अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ। 

शुक्रबार रा१ज २०० नम्बरको पिकअप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो।

उपाध्यक्ष बुढाले केही दिनअघि मात्र सामाजिक सञ्जालमा आमाको खुट्टाको उपचार गराइरहेको, आमालाई मन्दिर घुमाइरहेको फोटा राखेकी थिइन्। उनले बुबा बितेपछि एक्लै परेकी आमालाई उपचारसँगै काठमाडौंसमेत घुमाइन्।  

भदौ २८, २०८१ शनिबार १६:४३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।