क्यानडामा भएको अभ्यास खेलमा नेपाल विजयी

क्यानडामा भएको अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं : आईसीसी विश्वकप लिग २ अन्तर्गत क्यानडा, नेपाल र ओमानबीचको सिरिजअघि नेपालले क्यानडाको स्थानीय टिमसँग खेलेको अभ्यास खेलमा नेपाल ६६ रनले विजयी भएको छ।

क्यानडाको स्थानीय समयअनुसार शुक्रबार भएको खेलमा नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याएको एचपी ज्यागुअर्स ३९ ओभरमा अलआउट हुँदै १८१ रनमा समेटियो।

पहिला ब्याटिङ गरेको नेपालले ४७.५ ओभरमा अलआउट हुँदै २४७ रन बनायो। उसका लागि अनिलकुमार शाहले ४७, कुशल भुर्तेलले ४१, रोहित पौडेलले ३३ रनको योगदान दिए।

ज्यागुअर्सका लागि सील पटेल, इरफान सादत र जसकरण बटरले समान दुई–दुई विकेट लिए।

जवाफी लक्ष्य पछ्याएको ज्यागुअर्सका लागि अजयवीर सिंहले ५५ रनको अर्धशतकीय पारी खेले। नदीम मन्ज्राले २९ रन बटुल्दा समित गोहिलले २० रन जोडे।

बलिङतर्फ नेपालका ललित राजवंशीले चार, सन्दीप लामिछानेले तीन तथा कुशल मल्लले एक विकेट लिए।

ईसीसी विश्वकप लिग २ अन्तर्गत क्यानडा, नेपाल र ओमानबीचको सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ।

तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ। सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।

ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ। सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ।

भदौ २८, २०८१ शनिबार १०:१९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।