झापामा दुई जनाको हत्या

झापामा दुई जनाको हत्या

झापा : जिल्लाको शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको छ।

शिवसताक्षीमा शुक्रबार राति र अर्जुनधारा नगरपालिकामा शनिबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनका अनुसार, शिवसताक्षी नगरपालिका-८ शितलचोक निवासी रामप्रसाद सिटौलाको उनकै दाजु नारायण सिटौलाले शुक्रबार राति मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरीले जनाएको छ।

उनलाई तत्काल प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको छ।

यस्तै, अर्जुनधारा नगरपालिका-६ स्थित महानन्द चोकमा शनिबार राति इलाम सूर्याेदय नगरपालिका-१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या गरिएको छ।

लाहोर हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका-३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ।

लोहारलाई पटक-पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए।

छुरा प्रहारबाट घाइते भएकी लोहारको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो।

भदौ २८, २०८१ शनिबार ०७:४७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।