प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुङ्गियो

प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुङ्गियो

काठमाडौं : संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि गरिने सिफारिस विवादरहित तुल्याउन थप अध्ययन र छलफल गर्ने निष्कर्ष निकालेको छ। तर, प्रधानन्यायाधीश भने नियुक्त गर्न भने सकेन।  

बैठकमा सहभागी सदस्यहरूले परिषद्का निर्णयलाई विवादरहित तुल्याउन निर्णय अघि जुनसुकै विषयमा पनि पर्याप्त अध्ययन र छलफल गर्नुपर्ने सुझाव राखे। 

सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ मा पदावधि सकिँदैछ। रिक्त हुने उक्त पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट परिषद्ले नाम सिफारिस गरी सङ्घीय संसद्मा संसदीय सुनुवाई समितिमा पठाउनेछ।

परिषद्को यही भदौ ३१ मा बस्ने बैठकले यस सम्बन्धमा आवश्यक निर्णय लिने उपसभामुख इन्दिरा रानाले जानकारी दिइन्। 

उनले भनिन्, 'प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीशकै सिफारिस हुने भए पनि त्यसमा त्रुटीरहित र विवाद नआओस् भन्नका लागि थप अध्ययन गर्ने सहमति बनेको हो।' 

परिषद्बाट हुने निर्णय परिपक्क तुल्याउन यस्ता अध्ययन र छलफल फलदायी हुने भन्दै उनले यसले राम्रो अभ्यासको थालनी र परिपक्क निर्णय हुने बताइन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सहभागी थिए। 

भदौ २७, २०८१ शुक्रबार २०:४६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।