उपसभामुख रानाले प्रधानमन्त्रीलाई सोधिन् 'मलाई हटाउने कुरा छ नि?'

उपसभामुख रानाले प्रधानमन्त्रीलाई सोधिन् 'मलाई हटाउने कुरा छ नि?'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा बजारको हल्लामात्रै भएको बताएका छन्। 

आज संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्रीले यस्तो भनेको उपसभामुख रानाले बताइन्। उनले प्रधानमन्त्रीसँगको कुराकानीमा मलाई हटाउने कुरा के हो भन्दै प्रश्न गरेकी थिइन्। 

बैठकपछि रानाले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले आफूलाई हटाउने कुरा नभएको भनेर आश्वस्त गराएको बताइन्। 

उनले भनिन्, ‘मैले भनेँ कि मेरो अन्तराष्ट्रिय छवि छ। कयौं बालबालिका हुर्काएको छु। न त त्यो चिठी उता (दूतावास) गएको छ, न त उनीहरू अमेरिका गएका हुन्। वास्तवमा चिठी दर्ता नै भएको छैन। त्यसलाई लिएर यस्तो आयो भन्ने कुरा राखेँ। प्रधानमन्त्रीले तपाईं संवैधानिक परिषदको सदस्य हो। बजारको हल्लाबबारे कुरा नगरौं भन्नु भयो। बजारको कुरा बजारमै छाडौं भन्नुभएको छ।’

तपाईंको सोच अब के छ त? भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्, ‘मेरो के सोच हुनुपर्यो र? मैले केही गल्ती गरेको भए पो!’

सत्तारुढ कांग्रेस र एमाले सांसदहरूले संसद् बैठकमा उपसभामुखले 'मानव तस्करी गरेको' आरोप लगाउँदै पटकपटक राजीनामा मागिरहेका छन्। कांग्रेस-एमालेले बालुवाटारमा बैठक बसेर उपसभामुखको राजीनामा नआए संवैधानिक प्रक्रियाबाट हटाउने तयारी गरिरहेको छ।  

भदौ २७, २०८१ शुक्रबार २०:१३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।