कतिपय नीति संशोधन गर्नुपर्ने छ, राजा महेन्द्रको नीति त फाल्नुपर्यो नि : सञ्चारमन्त्री

कतिपय नीति संशोधन गर्नुपर्ने छ, राजा महेन्द्रको नीति त फाल्नुपर्यो नि : सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो वर्षलाई नीति निर्माण गर्ने र विधेयक पास गर्ने वर्ष बनाउने बताएका छन्। 

शुक्रबार काठमाडौं आयोजित सामुदायिक रेडियो प्रसारक संघको १८ औं वार्षिक साधारण सभा र अधिवेशनमा उनले राजा महेन्द्रको नीतिले अझै पनि चलिरहेको भन्दै त्यसलाई परिवर्तन गर्ने बताए। 

उनले भने, ‘यो वर्ष कतिपय नीति संशोधन गर्नुपर्ने छ। राजा महेन्द्रको नीति त फाल्नुपर्यो नि। गणतन्त्रात्मक शासन प्रणालीमा काम गर्ने नीति बनाउनु पर्यो। त्यही नीति अनुसार विधेयकहरू बनाउनुपर्ने हुन्छ। यो वर्ष सबै नीति निर्माण गर्ने, विधेयक पास गर्ने वर्ष बनाउने हो।’

उनले पञ्चायतको नीति, कानूनबाट शासित क्षेत्रलाई सुधार गर्ने अवसर प्राप्त भएको भन्दै खुशी पनि व्यक्त गरे। 

उनले भने, ‘कुनै अभियान सञ्चालन गर्नको लागि कुनै अध्ययन हुँदैन, अभ्यास पनि हुँदैन। नीति पनि हुँदैन। एक्कासि अभियान सुरू हुन्छ। अझै पनि १९, १५, १३ र २६ सालका कानूनले चलिरहेका छौं। बहुदलमा दुईवटा मात्र कानून बनेको छ, एउटा प्रेस काउन्सिलको र अर्को सञ्चार ऐन संशोधन भएको रहेछ। बाँकी सबै राजा महेन्द्रको कानूनबाट शासित रहेछ। बहुदलीय व्यवस्थामा बसेर पञ्चायतको नीति, कानूनबाट शासित छौं हामी।’ 

सबै पार्टीले भाषण गर्न जान्ने नेताहरु मात्र धेरै निर्माण गरेको भन्दै कुर्सीमा बसेर शासन गर्न योग्य नेताको आवश्यकता रहेको पनि उनको भनाई छ।  

भदौ २७, २०८१ शुक्रबार १८:३१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।