एकादशी र ‌औंशीमा पशुपक्षी बध गर्न नपाइने रामपुर नगरपालिकाको निर्देशन

एकादशी र ‌औंशीमा पशुपक्षी बध गर्न नपाइने रामपुर नगरपालिकाको निर्देशन

रामपुर : पाल्पाको रामपुर नगरपालिकाभित्र औंशी र एकादशीका दिन पशुपक्षी बध गर्न नपाइने भएको छ।

धार्मिक आस्था, परम्परा तथा स्वास्थ्यका लागि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्याउने उद्देश्यसहित औंशी र एकादशीका दिन पशुपक्षी बध नगर्न अनुरोध गरेको छ।

‘औंशी र एकादशीका दिनमा पशुपक्षी बध नगर्दा धार्मिक सहिष्णुता र सद्भाव पनि कायम हुने, धार्मिक आस्थामा कुनै असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने भएकाले उक्त दिनमा पशुपक्षी बध नगर्न/नगराउन यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा भनिएको छ।

नगर प्रमुख रमणबहादुर थापाले एकादशी र औंशीको दिन धार्मिक सांस्कृतिक परम्परा अनुसार पशुपक्षी बध गर्न नहुने भएकाले सोही धार्मिक मान्यतालाई निरन्तरता दिनका लागि सो दिन बध नगर्न नगरवासीलाई आग्रह गरिएको बताए।

उनका अनुसार एकादशी र औंशीमा पशुपक्षी बध गर्दा धार्मिक आस्थामा असर पुगेको नगरवासीबाट गुनासो आएपछि नगरपालिकाले बध नगर्ने निर्णय गरेको हो।

नगरपालिकाको निर्णय र सूचनालाई बेवास्ता गरी एकादशी र औंशीमा पशुपक्षी बध गरेको पाइएमा कारबाही गरिने नगरपालिकाले जनाएको छ।

भदौ २७, २०८१ शुक्रबार १४:१७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।