संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुने

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुने

काठमाडौं : प्रधानन्यायाधीश तथा रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्दैछ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राजनीतिक असहमति र शक्ति सन्तुलनको संघर्षका कारण नियुक्ति प्रक्रियामा ढिलाइ हुँदै आएको छ। आजको बैठकले हालका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना छ।

यस बाहेक रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी पनि नियुक्त हुन सक्ने जनाइएको छ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र प्रतिनिधि सभाका उपसभामुख गरेर आठ सदस्य हुने संवैधानिक व्यवस्था छ।

प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयमा सत्ताधारी दल एमाले र कांग्रेस लागिरहँदा संवैधानिक परिषद्को बैठक डाकिएको हो।

बिहीबार प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटमा संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको थियो।

भदौ २७, २०८१ शुक्रबार ११:३८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।