मन्त्रिपरिषद्का निर्णय : असोज ३ गतेदेखि धरहरा सञ्चालन हुने, वरीयता मिचेर कार्कीलाई वाणिज्य सचिव

मन्त्रिपरिषद्का निर्णय : असोज ३ गतेदेखि धरहरा सञ्चालन हुने, वरीयता मिचेर कार्कीलाई वाणिज्य सचिव

काठमाडौं : बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालन गर्नेदेखि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिसम्मको विषय टुंगो लगाएको छ।

बैठकले संविधान दिवसको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो। यसको जिम्मेवारी तत्कालका लागि संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ।

त्यसैगरी बैठकले यसअघि राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भइसकेका सुशील ज्ञवालीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय समेत गरेको छ।

यस्तै सरकारले दुई सचिवको सरुवा गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा प्रमुख तथ्यांक अधिकारीमा सरुवा गरिएको छ भने केहि दिनअघि मात्रै सहसचिवबाट सचिवमा बढुवा भएका गोविन्दबहादुर कार्कीलाई वरीयता मिचेर वाणिज्य सचिवको जिम्मेवारी दिइएको छ।

कार्की भन्दा अघि नै सहसचिवबाट सचिवमा बढुवा भएका सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा।हरि लम्साल, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, मधेश प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौडेल, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेल भने प्रदेशमा नै रहेका छन्।

भदौ २६, २०८१ बिहीबार २३:४७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।