मलेसियामा सधैंका ढलेका रूपलालको लाश अन्तिमपटक हेर्न पर्खिरहेकी छिन् ८० वर्षीय आमा रूपनी

मलेसियामा सधैंका ढलेका रूपलालको लाश अन्तिमपटक हेर्न पर्खिरहेकी छिन् ८० वर्षीय आमा रूपनी

बुटवल : ४ बर्षपछि मलेसियाबाट फर्कँदै थिए दाङका रूपलाल चौधरी। आइतबार जन्मभूमि तुल्सीपुर उपमहानगरपालिका-११ बेलगनारमा फर्कन लागेका उनी मलेसियाको क्वलालम्पुर विमानस्थलमा आएर बोडिङ पास गराएर विमानस्थल भित्र छिरे।

छोरा आउने आशमा ८० वर्षीय रूपलालकी आमा रुपनी खुसी थिइन्। श्रीमती र दुई छोराहरू पनि उनै रूपलालको बाटो हेरेर बसेका थिए। रूपलाल सपना थिए, परिवारसँग बस्ने, आमाको बुढेसकालको सहारा बन्ने यस्तै-यस्तै।

शनिबार बोडिङ पास भएपछि अन्तिम पटक श्रीमती मन बुझौनीसँग रूपलालले घर आउँदैछु भनी कुरा गरे। केही समय श्रीमतीसँग कुरा गरेका रूपलालसँग त्यसपछि श्रीमती मन बुझौनी कुरा भएन। उनलाई श्रीमान नेपाल आउनका लागि विमानस्थल छाडेको जस्तो लाग्यो।
तर, उनी कुराकानी गरेपछि विमानस्थलमै लडे।

‘श्रीमतीसँग कुराकानी भएलगत्तै उहाँ त्यही बेहोस हुनुभएछ। पछि प्रहरी आउनसाथ उहाँको अन द स्पोर्ट मृत्यु भएको थाहा भएछ,’ घटनाको विवरण सुनाउँदै तुलसीपुर उपमहानगरपालिका-११ का वडा अध्यक्ष मान बहादुर रावतले भने।

रूपलाल विमानस्थलमा ढलेपछि उनकै फोनबाट परिवारमा मलेसियन प्रहरीले श्रीमती मन बुझौनीसँग पटक–पटक कुरा गरे। तर, मलेसियाको भाषा परिवारले बुझेन।

त्यसपछि मन बुझौनीले नै आफ्ना देवर लोकमणीलाई फोन गरिन्। लोकमणी उनै रूपलालका सहोदर भाइ हुन्। उनी पनि मलेसियामै रोजगारी गर्छन्। 

भाउजूको कुरा सुनेपछि उनै लोकमणी विमानस्थल पुगे। अनि त्यहींका प्रहरी सामु दाइकै मोबाइलबाट कुरा गरे। त्यसपछि मात्र परिवारलाई रूपलालको विमानस्थलमा हृदयघातबाट मृत्यु भएको खबर थाहा पायो।

‘साथीभाइसँग विदा भएर विमानस्थलमा पनि आएर घर आउँछु भनेको एउटा युवाको अकस्मात् मृत्युले सिंगो गाउँ शोकमा डुबेको छ। उनको शव ल्याउनका लागि वडा र गाउँपालिकाबाट आवश्यक कागजपत्र बनाएर पठाइसकिएको छ,’ वडा अध्यक्ष रावतले भने।

विभिन्न रोगबाट थलिएकी आमा रूपनीले छोरालाई ४ महिनाअघि नै बोलाएकी थिइन्। तर, उनी समय नमिल्ने भएको भन्दै आउन सकेनन्। केही क्षणमै छोरा नेपाल उड्न लागेको खबर पाएकी रुपनी छोराको मृत्युको खबर पछि बेहोस बनिन्।

सामान्य परिकारका रूपलाल घर खर्च र दुई छोराहरू १३ वर्षीय विपिन र १६ वर्षीय विवेकको शिक्षा-दीक्षाका लागि परिवारसँग टाढा भएका हुन्। अब उनको मृत्युपछि श्रीमती मन बुझौनीको सिउँदो पुछियो। छोराहरू टुहुरा बने। ८० वर्षीय रुपनीको बुढेसकालको सहारा गुम्यो।

नेपाली समयअनुसार शनिबार दिउँसो करिब ४ बजेसम्म रूपलाल सम्पर्कमै रहेको र त्यसपछि उनी परिवारसँग सम्पर्कमा नभएको वडा अध्यक्ष रावतले बताए।

अकस्मात् हृदयघात भएपछि रूपलालको निधन भएको खबर परिवारसम्म आइपुगेको छ। छोरा फर्कने आसमा बसेकी वृद्ध आमा अहिले छोराको शव आउने बाटो कुरिरहेकी छिन्। रूपलालका बुवाको २३ बर्षअघि नै दुर्घटनामा मृत्यु भएको थियो।

वडा अध्यक्ष रावतको अनुसार उनको शव सरकारले छिटो पहल गरेमा पनि शव नेपाल आइपुग्न १० देखि १५ दिन लाग्ने बताए। 

भदौ २३, २०८१ सोमबार २१:५७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।