लुम्बिनीका सांसद केसी : ३३ वर्षसम्म फरार, अदालतमा आत्मसमर्पण गरेको एक दिनमै पैसा बुझाएर रिहा

लुम्बिनीका सांसद केसी : ३३ वर्षसम्म फरार, अदालतमा आत्मसमर्पण गरेको एक दिनमै पैसा बुझाएर रिहा

बुटवल : श्रीमतीसँगको अंश मुद्दामा कीर्ते गरेको अभियोगमा अदालतबाट दोषी ठहर लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन्। सोमबार केसी कानुनअनुसार कैदको सट्टामा रकम तिरेर रिहा भए।

रुकुम जिल्ला अदालतले २०४८ असार ९ मा कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

त्यसपछि फरार रहेका उनले आइतबार पूर्वी रूकुम जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। त्यसपछि आइतबारै उनलाई अदालतले कारागार चलान गर्न आदेश दिएको थियो।

रुकुमपूर्व जिल्ला अदालतका नायब सुब्बा ओबीराम खड्काका अनुसार फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधाअनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर उनी रिहा भएका हुन्।

फौजदारी अपराध संहिता २०७४ अनुसार एकबर्षसम्मको कैद सजायमा १ दिन बराबरको ३ सय रुपैयाँका दरले रकम भुक्तानी गरेमा रिहा हुन सक्ने प्रावधान रहेको छ। 

यता, अदालतले कारागार चलान गरेको भएपनि उक्त पत्र नै प्रदेश सभामा नआउँदै उनी रिहा भए। प्रदेश सभा सचिवालयले यसबारै कुनै औपचारिक जानकारी नआएको जनाएको छ। 

नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका थिए।  

भदौ २३, २०८१ सोमबार १८:३५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।