अमेरिकी राष्ट्रपति बाइडनका छोराले कर छलीका आरोप स्वीकारे, बाइडनले छोरालाई माफी दिन शक्ति दुरूपयोग नगर्ने

अमेरिकी राष्ट्रपति बाइडनका छोराले कर छलीका आरोप स्वीकारे, बाइडनले छोरालाई माफी दिन शक्ति दुरूपयोग नगर्ने

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हण्टर बाइडनले संघीय कर छलीका सबै नौं वटा आरोप स्वीकार गरेका छन्। घटनाले संघीय अभियोजकहरूलाई चकित पारिदिएको छ। मुद्दा परीक्षणको तयारी भइरहेको छ। 

५४ वर्षीय हण्टर बाइडनले २०१६ देखि २०१९ सम्म १.४ मिलियन डलर कर नतिरेको आरोप लगाइएको थियो। उनले सुरुमा आरोपहरू स्वीकार गर्दै निर्दोष भएको बताउँदै आएका थिए।

तीन महिना पहिले, हण्टर बाइडनलाई हतियार र मादक पदार्थ प्रयोगसँग सम्बन्धित आरोपहरूमा दोषी ठहराइएको थियो। जसका कारण उनी अमेरिकाको बहालवाला राष्ट्रपतिका पुत्रका रूपमा पहिलो पटक दोषी ठहरिए।

लस एन्जलस अदालतमा बिहीबार अन्तिम समय उनी नौ वटा करछलीका आरोप स्वीकार गरेको बीबीसीले जनाएको छ।

उनको मुद्दामा जूरी छनोटको प्रक्रिया सुरू हुन लागेको थियो। त्यसका लागि एकसय भन्दा बढी संभावित जूरी सदस्यहरूले प्यानल चयन प्रक्रिया सुरू गर्नको लागि जम्मा भएका थिए।

बाइडनका वकिल अब्बे लोवेलले ‘व्यक्तिगत चासोको लागि’ परीक्षणबाट रोक्न चाहेको बताए। उनले यो घटना ‘ड्रगको लतका कारण’ पनि भएको बताए।

जज मार्क स्कार्सीका अनुसार आरोप स्वीकार गरेपछि हण्टर बाइडनलाई १५ वर्षसम्मको जेल सजाय र पाँच लाखदेखि १० लाख डलरसम्म जरिवाना लाग्न सक्छ। अब फैसला १६ डिसेम्बरमा हुनेछ।

राष्ट्रपति बाइडनले पहिला नै आफ्ना पुत्रलाई माफी दिने कार्यकारी शक्तिको उपयोग नगर्ने बताइसकेका थिए। 
 
साधारण कर अपराधको आरोपमा हण्टर बाइडनले अघिल्लो वर्ष डेलावेयरमा दोष स्वीकार गर्न सहमति जनाएका थिए।  

भदौ २०, २०८१ शुक्रबार १५:३०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।