जो बाइडेनका छोरा हन्टरद्वारा कर छलीका नौ अपराध स्वीकार

जो बाइडेनका छोरा हन्टरद्वारा कर छलीका नौ अपराध स्वीकार

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले जानीजानी कर छलीको नौ अभियोगमा आफ्नो संलग्नता भएको स्वीकार गरेका छन्।

५४ वर्षीय हन्टर आफूलाई निर्दोष दाबी गर्दै मुद्दाको सामना गर्न चाहे पनि अभियोजकहरूको आपत्तिपछि उनले अभियोग स्वीकार्न बाध्य भएको बीबीसीले जनाएको छ।

यसअघि, हन्टर बाइडेनले सन् २०१६ र २०१९ को बीचमा जानाजानी १४ मिलियन डलरको कर नतिरेको आरोप अस्वीकार गरेका थिए।

तीन महिनाअघि उनी बन्दुक राख्ने र लागुऔषध प्रयोगको छुट्टा-छुट्टै मुद्दामा दोषी ठहर भएका थिए।

बिहीबार उनीविरुद्धको कर छलीको मुद्दा सुरू हुन लागेको अवस्थामा न्यायाधीशहरू छनौटको चरणमा रहेकै बेला उनले अभियोग स्वीकार गरेका हुन्।

हन्टरका वकिलका अनुसार उनी व्यक्तिगत कारणले मुद्दा चलाउन नचाहेको उल्लेख गरेका छन्। उनका साथी र परिवारका सदस्यहरूले अदालतमा गएर बयान दिन नपरोस् भनेर आरोप स्वीकार गरेको उनको भनाइ छ।

न्यायाधीश मार्क स्कार्सीले हन्टरलाई अधिकतम १५ वर्षसम्मको जेल सजाय र पाँच देखि १० लाख डलरसम्म जरिवाना हुनसक्छ। सजायको लागि अदालतले डिसेम्बर १६ को दिन तोकेको छ।

राष्ट्रपति बाइडेनले यसअघि नै छोरालाई माफी दिन आफ्नो शक्ति प्रयोग नगर्ने बताइसकेका छन्। अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ।

भदौ २०, २०८१ शुक्रबार १२:२४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।