एमबीबीएस प्रवेश परीक्षाको विषयमा सांसदको प्रश्न– ‘मानवीय गल्ती भन्दै विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ?’
काठमाडौं : माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजामा गम्भीर त्रुटी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबारको प्रनिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम टाइब्रेकको आधारमा कायम गर्नुपर्ने परीक्षाको नतिजा रोल नम्बरका आधारमा भएकोमा आश्चर्य प्रकट गरे।
उनले भने, ‘चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिले किन गम्भीर प्रकृतिको गल्ती गरेका? वक्तव्य निकालेर मानवीय गल्ती भयो भनेर सच्याइयो पनि! मानवीय गल्ती गरेर विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ र?’
विद्यार्थीले समान अंक प्राप्त गर्दा क्रमशः बायोलोजी, केमेस्ट्री, पिजिक्स र गणितमा प्राप्त अंकका आधारमा मेरिट प्राप्त गर्नुपर्नेमा झण्डै तीन हजार विद्यार्थीको नतिजा परिवर्तन भएको उनको भनाइ छ।
परीक्षार्थीले परीक्षाको विश्वसनियता, प्रश्नपत्रको गोपनियताबारे प्रश्न उठाइरहेको समेत बताए।
उनले थपे, ‘ओएमआर सिटबारे प्रश्न उठ्दैन सभामुख महोदय। रोल नम्बर एउटा विद्यार्थीको प्राप्ताङ्क अर्को विद्यार्थीको। भद्रगोल बनाउने अनि फेरि सच्याइयो भन्ने?’
परीक्षा लिने निकायको यस किसिमको गम्भीर लापरबाहीले विद्यार्थीले आश गरेको मेडिकल साइन्सजस्तो विषय समेत गन्जागोल भएको उनले बताए।
उनले अगाडि भने, ‘यस प्रकारको मजाकभन्दा माथि उठेर सम्बन्धित निकायले निकै पारदर्शिता र गम्भीरतापूर्वक मेरिटका आधारमा पढ्न पाउने विद्यार्थीको सिट र कोटाको व्यवस्थित गर्न ध्यानाकर्षण गराउँछु।’
भदौ १७, २०८१ मंगलबार १४:१२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।