नेपालमा मङकी पक्स आउन सक्ने भन्दै जनस्वास्थ्यविद् डा पुनले भने ‘तर कोभिड जस्तो घातक हुन्न’

नेपालमा मङकी पक्स आउन सक्ने भन्दै जनस्वास्थ्यविद् डा पुनले भने ‘तर कोभिड जस्तो घातक हुन्न’

काठमाडौँ  : जनस्वास्थ्यविद् डा शेरबहादुर पुनले हाल अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स (मङ्की पक्स) नेपालमा पनि आउन सक्ने बताए।

संसारका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट नेपालमा आउन सक्ने उनले बताए।

‘कतै देखिएको प्रकोपलाई हामी त्यो देशभन्दा धेरै टाढा छौँ भनेर ढुक्क हुने अवस्था छैन,’ जाइका एल्मुनाई एसोसिएसनद्वारा राजधानीमा शनिवार आयोजित कार्यक्रममा उनले भने।
    
यद्यपि मङ्की पक्ससम्बन्धी अहिलेसम्मको चिकित्सा अनुभवले यो कोभिड जत्तिको खतराजनक नभएको डा पुनले बताए। यसलाई अहिलेसम्म ठेउला जस्तै छालामा हुने सङ्क्रामक रोगका रूपमा चिकित्सा विज्ञानले बुझेको उनले जानकारी दिए।

  सन् १९५८ मा बाँदरहरूमा देखिएका कारण मङ्की पक्स नाम पाएको यो रोग सन् १९७० मा कङ्गोका एक जना नौ वर्षे बालकमा भेटिएपछि मानव शरीरमा पनि सङ्क्रमण हुने कुरा पत्ता लागेको थियो। ज्वरो, कडा टाउको दुखाइ तथा अनुहार र हातमा खटिरा आदि यस रोगका लक्षण हुन्। अहिले यो रोग विश्वका ४० देशमा पुगिसकेको छ।    
    
पछिल्लो समय लामखुट्टे नियन्त्रण प्रभावकारी नहुँदा डेङ्गेको समस्या बढ्दै गएको उनले बताए। यसबाहेक हैजाको समस्या भने जार वा बोटलको पानी भन्दै नउमाली खाने बानीले बढाएको देखिएको उनले बताए।

भदौ १४, २०८१ शनिबार २२:४१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।