ओलम्पिकमा नेपाललाई कांस्य पदक दिलाएर इतिहास रचेकी पलेशाले सरकारबाट पाउनेछिन् ६५ लाख पुरस्कार

ओलम्पिकमा नेपाललाई कांस्य पदक दिलाएर इतिहास रचेकी पलेशाले सरकारबाट पाउनेछिन् ६५ लाख पुरस्कार

काठमाडौं :ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेशा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख नगद प्राप्त गर्नेछिन्।

पलेशाले पेरिसमा जारी पाराओलम्पिक्समा शुक्रबार राति सर्बियन खेलाडीलाई १५-८ ले हराउँदै नेपालका लागि पहिलो ओलम्पिक पदक जित्दै ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली बनेकी छन्। 

अब उनले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार ६५ लाख प्राप्त गर्ने छिन्। नियमावलीमा भएको व्यवस्थाअनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पाराओलम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कार अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कारस्वरूप दिनुपर्ने छ।

नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेले १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ। 

पुरस्कृत हुने उनी पहिलो नेपाली खेलाडी बन्ने छिन्। पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै, नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ।

ओलम्पिकमा ६ दशकदेखि सहभागिता जनाउँदै आए पनि नेपाली खेलाडीले एक पनि खेल जित्न सकेका थिएनन्।

उनले तेस्रो स्थानका लागि सर्बियाकी मारिजा मिसेभसँग प्यारा तेक्वान्दोको महिला ४४-५७ किलो वजन समूहको पहिलो कांस्य पदकका लागि प्रतिस्पर्धा गरिन्।

मिसेभविरुद्ध खेलको अन्तिम मिनेटमा लगातार किक स्कोर गर्दै पदक जितिन्।

‘यो अवास्तविक लाग्छ,’ गोवर्धनले आफ्नो अविश्वसनीय विजयपछि भनिन्, ‘धेरै मानिसहरूले सपना देख्छन्, तर त्यसलाई साकार पार्न काम र प्रयास गर्दैनन्। मैले १० वर्षको उमेरमा देखेको सपना अन्ततः ऐतिहासिक क्षण बन्यो।’

उनले चीनको हाङचाओमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ४४ क्याटगोरीको महिला ५७ केजी मुनिको तौल समूहमा कांस्य पदक जितेकी थिइन्।

भदौ १४, २०८१ शनिबार १५:४८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।