पारालम्पिक्समा नेपालको ऐतिहासिक जित, तेक्वान्दोमा पलेसा गोवर्धनले जितिन् पहिलो पदक
एजेन्सी : नेपालकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन पेरिसमा आयोजना हुने पारालम्पिक्समा छनौट भएसँगै स्वर्णको सपना देखेकी थिइन्।
उनको त्यो सपना पूरा भएन तर देशकै लागि पहिलो पारालम्पिक मेडलको उपहार भने दिइन्।
शुक्रबार भएको खेलमा प्रतिद्वन्द्वीलाई हराएर उनले तेस्रो स्थान पाएसँगै इतिहास रचिन्। उनले पाएको पदक नेपालको मात्रै हैन, पारालम्पिक २०२४ मा एसियाली राष्ट्रको पहिलो पदक हो।
उनले तेस्रो स्थानका लागि सर्बियाकी मारिजा मिसेभसँग प्यारा तेक्वान्दोको महिला ४४-५७ किलो वजन समूहको पहिलो कांस्य पदकका लागि प्रतिस्पर्धा गरिन्।
मिसेभविरुद्ध खेलको अन्तिम मिनेटमा लगातार किक स्कोर गर्दै पदक जितिन्।
‘यो अवास्तविक लाग्छ,’ गोवर्धनले आफ्नो अविश्वसनीय विजयपछि भनिन्, ‘धेरै मानिसहरूले सपना देख्छन्, तर त्यसलाई साकार पार्न काम र प्रयास गर्दैनन्। मैले १० वर्षको उमेरमा देखेको सपना अन्ततः ऐतिहासिक क्षण बन्यो।’
उनले चीनको हाङचाओमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ४४ क्याटगोरीको महिला ५७ केजी मुनिको तौल समूहमा कांस्य पदक जितेकी थिइन्।
भदौ १४, २०८१ शनिबार ०३:३०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।