राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापक पुरस्कृत

राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापक पुरस्कृत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा दोस्रो भएको राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला भलिबल टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई दुई लाख तथा सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार रुपैयाँ राशिसहित पुरस्कार प्रदान गरेका हुन्।

गत साउन १७ गतेदेखि २३ गतेसम्म काठमाडौंमा भएको ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’मा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो। नेपाल भारतसँग अन्तिम सेटमा पराजित हुन पुगेको थियो।

मन्त्रिपरिषद्को गत साउन ३१ गते बसेको बैठकले सहभागी खेलाडी, प्रशिक्षलगायतलाई गरी कूल रु ४७ लाख ६० हजार पुरस्कार दिने निर्णय गरेको थियो।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गरे।

‘हाम्रा खेलाडी छोरीलाई थप सफलता र प्रगतिका लागि उत्साह मिलेको छ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘यो पुरस्कारमा थप सफलताको शुभकामना जोडिएको छ। खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्नेछ। तपाईंहरू जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्नुस्।’

भदौ १२, २०८१ बिहीबार ११:५६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।