बल्ल मन्त्रालयको अवस्था बुझ्नथाले स्वास्थ्य मन्त्री पौडेलले, भने,‘ तत्काल जनशक्ति र साधनस्रोत बढाउने स्थिति छैन’
काठमाडौँ : मन्त्री नियुक्त भए लगत्तै मन्त्रालयको अवस्था नबुझी भटाभट घोषणा र निर्देशनमा केन्द्रित भए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल। उनी बल्ल मन्त्रालयको अवस्थाबारे जानकार भएको देखियो।
त्यसैले हिजोआज उनी अस्पतालको लाइन हटाउने हैन घटाउने भन्न थालेका छन्। स्वास्थ्य क्षेत्रमा तत्कालै साधनस्रोत र जनशक्ति बढाइहाल्ने स्थिति नभएको स्विकारेका छन्। सोमबार परोपकार तथा स्त्रीरोग अस्पतालको ६५औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी भएका उनले अहिलेकै साधनस्रोत भित्र सन्तुष्टि लिने अवस्था नभए पनि तत्काल साधनस्रोत तथा जनशक्ति बढाउने अवस्था नरहेको स्विकारे।
‘अहिलेको साधनस्रोत भित्र जुन उपलब्धि भएको छ, यसैमा सन्तुष्टि लिने स्थित छैन,’मन्त्री पौडेलले भने,‘साधन स्रोत बढाउने स्थिति पनि छैन। जनशक्ति बढाउने स्थिति पनि छैन। उपलब्ध साधन स्रोत र जनशक्तिबाट हामीले प्रभावकारिता बढाउन जरुरी छ।’
मन्त्री पौडेलले प्रसूति गृह अन्य सरकारी अस्पतालको तुलनामा व्यवस्थित भए पनि धेरै सन्तुष्टि भइहाल्ने अवस्था भने नरहेको तर्क गरे।
कार्यक्रममा प्रसूति गृहका निर्देशक डा. श्रीप्रसाद अधिकारी ले आर्थिक वर्ष २०८०-०८१ मा अस्पतालमा प्रसूति सेवाका लागि भर्ना २५ हजार एक सय १६ जनामध्ये २२ हजार तीन सय ७९ जनाको प्रसूति भएको जनाकारी दिए। जसमध्ये २२ हजार ६ सय १३ जना शिशुको जन्म भएको उनले बताए।
प्रसूति गराइएकामध्ये नौ हजार ६ सय ६२ जनाको शल्यक्रिया (सिजरियन सेक्सन) गरी प्रसूति गराइएको डा. अधिकारीले जानकारी दिए। यसरी हेर्दा ४३ प्रतिशत महिलालाई सिजरियन सेक्सन गरी प्रसूति गराउनु परेको थियो। जुन गत वर्षको तुलनामा चार प्रतिशतले बढी भएको उनले बताए।
डा. अधिकारीले आर्थिक वर्ष २०८०-०८१ मा ३० हजार नौ सय ५२ जना महिला प्रसूति गृहमा भर्ना भएको जानकारी दिए। जसमध्ये प्रसूतितर्फ २५ हजार एक सय १६ र स्त्रीरोगतर्फ पाँच हजार आठ सय ३६ जना थिए। त्यसै गरी नवजात शिशु सघन उपचारतर्फ दुई हजार सात सय ८७ र मातृ सघन उपचारतर्फ चार सय ५४ जना भर्ना भएका थिए भने बहिरङ्ग सेवातर्फ एक लाख ९४ हजार चार सय ९० जना महिलाले स्वास्थ्य सेवा लिएको निर्देशक डा. अधिकारीले जानकारी दिए।
यो अस्पताल २०१६ भदौ दश गते श्री कृष्ण जन्माष्टमीको दिन ४० शैयाबाट परोपकार संस्थाको नामबाट स्थापना भएको हो। विकास समिति गठन आदेश ऐन अन्तर्गत २०६४ असोज १३ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नामकरण भयो। हाल अस्पतालले ६५ वर्ष पार गरेको छ। ४० शैयाबाट सुरु भएको यो अस्पतालमा स्वीकृत शैयाको सङ्ख्या चार सय १५ भए पनि बिरामीको चापका कारण चार सय ९८ शैया सञ्चालनमा रहेको निर्देशक डा. अधिकारीले जानकारी दिए।
भदौ ९, २०८१ सोमबार १५:१२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।