टेबलभरि प्लास्टिकको पानीको बोतल राखेर युवाहरूले गरे स्वच्छ  वातावरणबारे छलफल

टेबलभरि प्लास्टिकको पानीको बोतल राखेर युवाहरूले गरे स्वच्छ  वातावरणबारे छलफल

काठमाडौँ : वातावरण प्रदूषणबारे स्वच्छ हावा नेटवर्क नेपालले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले वातावरणलाई स्वच्छ राखी प्रदूषण हटाउन युवाको भूमिका महत्त्वपूर्ण हुने बताए। तर सहभागीहरू छलफलमा जुटेको टेबलमा वातावरणलाई सबैभन्दा धेरै प्रभाव पार्ने प्लास्टिकका पानीका बोतलले भरिएका थिए।

काठमाडौँमा आयोजित छलफलमा वातावरणविद् डा भूपेन्द्र दास, वातावरण अभियन्ता भोला भट्टराई लगायतकाहरु सहभागी थिए। उनीहरूले कार्यक्रममा वातावरण प्रदूषण जोगाउनेबारे आफ्ना लामा-लामा धारणा राख्दा टेबलमा रहेका प्लास्टिकका बोतलले गिज्याइरहेझैँ देखिएको थियो।

वातावरणविद् डा भूपेन्द्र दासले ले बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि स्थानीय तहलाई सक्षम बनाउन आवश्यक रहेको बताए। स्वच्छ हावा कायम नराखे सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पर्दै जाने भएकाले वातावरण स्वच्छ बनाउन युवाले पहलकदमी लिनुपर्नेमा जोड दिएका थिए।

‘वायु प्रदूषणको असर र न्यूनीकरणका लागि तीनै तहका सरकार, सम्बन्धित विषयमा सरोकार भएका निकायबीच समन्वय र सहकार्य जरुरी छ। यसका बारेमा जनस्तरमा व्यापक रूपमा जनचेतना अभिवृद्धि गर्नु पनि आवश्यक छ’, प्लास्टिकका बोतललाई साक्षी राख्दै वातावरणविद् डा दासले भने।

उनले कार्यक्रममा स्थानीयस्तरमा प्रदूषण सम्बन्धी जनचेतना अभिवृद्धि गरी प्रदूषण न्यूनीकरणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताइरहँदा प्लास्टिकजन्य सामाग्रीको प्रयोगले वातावरणमा पर्ने असरबारे कार्यक्रमस्थलमै जनचेतना जगाउनुपर्ने आवश्यकता देखिएको थियो।

त्यही कार्यक्रममा वातावरण अभियन्ता भोला भट्टराईले पछिल्लो समय बढ्दो शहरीकरण तथा औद्योगीकरणका कारण वायु प्रदूषण पनि बढ्दै गएको भन्दै यसको नियन्त्रण गर्न नसके मानवीय स्वास्थ्यमा गम्भीर असर पुग्ने बताए।

‘प्रदूषण बढेको समयमा रोकथाम तथा नियन्त्रणसम्बन्धी विषयले स्थान पाउँछ’, उनले भने, ‘हामीले सधैँ वातावरणीयलाई स्वच्छता कायम राख्न पहल गर्नुपर्छ। युवा वर्ग जागरु भएर वायु प्रदूषण नियन्त्रण तथा यसको असर न्यूनीकरणका विषयमा अभियान सञ्चालन गरी अगाडि बढाउन जरुरी छ।’

युवा अभियन्ता सोनम श्रेष्ठले नेटवर्कले देशभरका युवालाई जोडेर स्वच्छ हावा कायम राख्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएको राससले जनाएको छ। वातावरण न्यायका लागि आवाज उठाएर वायु प्रदूषण न्यूनीकरण गर्न आवश्यक रहेको अभियन्ताहरूको भनाइ छ।

भदौ ५, २०८१ बिहीबार १७:३७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।