आपराधिक पृष्ठभुमिका परशुराम बस्नेतलाई छेउमा राखेर प्रधानमन्त्री ओलीको दाबी ‘भ्रष्टाचारमुक्त आनन्दको नेपाल बनाउन चाहेको छौँ’

आपराधिक पृष्ठभुमिका परशुराम बस्नेतलाई छेउमा राखेर प्रधानमन्त्री ओलीको दाबी ‘भ्रष्टाचारमुक्त आनन्दको नेपाल बनाउन चाहेको छौँ’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार छोप्ने काममा नलाग्ने दाबी गरे।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेनिकट नेपाल खेलकुद महासङ्घ केन्द्रीय कमिटीको तेस्रो बैठकमा उनले सरकार भ्रष्टाचारका घटना खोजविन गर्ने र कारबाही गर्ने कामका लागि बनेको दाबी गर्दा उनीसँगै कुम जोडेर बसेका थिए पटक-पटक आपराधिक गतिविधीमा संलग्न रहेको आरोप लागेका परशुराम बस्नेत। बस्नेतसँगै टासिएर उनले सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता राख्ने दाबी गरे।

‘अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो। भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्ने र भ्रष्टाचार छोप्ने काम गर्नका लागि होइन,’ उनले भने‘भ्रष्टाचार खोजविन र कारबाही गर्ने कामको लागि बनेको सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता राख्छ। समयक्रममा व्यवहारमा देखिँदै जान्छ।’

उनले न्याय र कानुन सबैका लागि भएकाले अनुहार हेरेर कुनै पनि व्यवहार नगर्ने दाबी समेत गरे।

कानुनले व्यवहार गर्ने भन्दै उनले सुशासनयुक्त, समृद्ध, आधुनिक, शान्तिपूर्ण सुखी नेपाल र आनन्दको नेपाल बनाउन चाहेको उनको दाबी थियो।

उनले जो भ्रष्ट छ उसले भ्रष्टाचार विरोधी नाराको नाटक गरेर जनता अलमल्याउने काम गरेको दाबी समेत गरे।

‘जो भ्रष्ट छ उसले भ्रष्टाचार विरोधी नाराको नाटक गरेर जनता अलमल्याउँछ। जो भ्रष्टाचार विरोधी छ उसलाई आरोप लगाएर तथानाम बोलेर बदनाम गर्न खोजिन्छ। यस्ता तत्त्वहरू छन्। तीनलाई देशको माया छैन’ उनले भने।

उनले अनेक प्रकारका शक्तिले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न आग्रह गरेका थिए।

 ‘यति सानो देशमा हामी धेरै जाति, भाषी र जाति मिलेर बसेका छौँ। यो हाम्रो सम्पन्नता र जीवित सम्पदा हो’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले राष्ट्र र जनताको मन विखण्डित हुन दिनु हुँदैन।’
    
जनताको शासनका रुपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्याउने भन्लदै उनले देशमा शान्ति, सुव्यवस्था र कानुनको राज नहोस् भनेर वितण्डा मच्चाउन खोज्ने, सरकार र देशलाई असफल पार्ने प्रयास हुनसक्ने बताए।

समाजमा योगदान नगरेकाहरुलाई तारिफ गरेर माथि उठाउने र लोकतन्त्रका लागि योगदान गरेकाहरुलाई गाली गर्ने काम भइरहेको उनले दाबी गरे।

भदौ १, २०८१ आइतबार १७:१६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।