हिमलताल विष्फोट : थामे अझैँ बाढीको जोखिममा, बस्ती अन्त सार्न सांसदको माग

हिमलताल विष्फोट : थामे अझैँ बाढीको जोखिममा, बस्ती अन्त सार्न सांसदको माग

काठमाडौँ :  सोलुखुम्बुको थामे बाढीले ध्वस्त बनाएको  र अझैँ जोखिम कायम रहेको भन्दै त्यहाँको बस्ती अन्यत्र सार्न राष्ट्रिय सभाका सांसद सोनामगेल्जेन शेर्पाले माग गरे। आइतबार उनले थामेमा भीषण बाढीका कारण घरहरू क्षतिग्रस्त भएको, एक जना बेपत्ता भएको, पशु चौपायाको लागत आउन बाँकी रहेको, विद्युत् र सञ्चार क्षेत्रमा पूर्ण रूपमा क्षति भएको भन्दै थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न पहल गर्न माग गरे।

शुक्रवार रक्षा मन्त्रीसहितको टोलीले गरेको हवाई निरीक्षणमा हिमताल फुटेर अकस्मात बाढी आएको र अन्य दुई ताल समेत जोखिममा रहेको भन्दै थामेमा अझैँ जोखिम रहेको निष्कर्ष निकालेको थियो।

उनले नेपालमा पछिल्लो समयमा वातावरण परिर्वतनको असर देखिन थालेको बताउँदै वातावरण र जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए। जलवायु परिवर्तनबारे नेपालमा भए गरेका अध्ययन-अनुसन्धानबारे जनता सुसूचित गर्न नसकिएको सांसद शेर्पाले बताए।

‘थामे नजिकै रहेका पोखरीहरू कति खतरामा छन् भन्नेबारे विभिन्न सङ्घसंस्थाले अध्ययन गरिरहेका छन् तर सरकारसँग तथ्याङ्क छैन’, उनले भने ‘नेपालमा गरिने सबै अनुसन्धानको तथ्य सरकारले राख्नुपर्छ।’

सरकारले मुलुकमा हुने अध्ययन अनुसन्धानका लागि छुट्टै रकमको व्यवस्था गर्नुपर्ने भन्दै सोलुखुम्बुका विभिन्न स्थानमा बाढीको जोखिम न्यूनीकरण गर्न दीर्घकालीन समाधानका उपाय अपनाउनुपर्नेमा उनले जोड दिए।

भदौ १, २०८१ आइतबार १७:०८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।