भैरहवा भन्सारको तीन वर्ष : राजश्व संकलनमा असफल, निरन्तर बढ्यो निर्यात

भैरहवा भन्सारको तीन वर्ष : राजश्व संकलनमा असफल, निरन्तर बढ्यो निर्यात

बुटवल : रुपन्देहीको बेलहिया नाका हुँदै भारत लगायत तेस्रो मुलुकमा पछिल्लो तीन वर्षमा निर्यात बढेको छ।

पछिल्ला तीन वर्षदेखि भैरहवा भन्सार कार्यालयले लक्ष्यअनुसार राजश्व संकलन गर्न असफल भए पनि निर्यात भने बढेको देखिन्छ।

कार्यालयका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा १३ अर्ब ८२ करोड ४२ लाख ६३ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बेलहिया नाका हुँदै भारत तर्फ निर्यात भएका छन्।

आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब ७० करोड ९१ लाख ५६ हजार रुपैयाँ मूल्यको नेपाली उत्पादन निर्यात भएको भन्सार कार्यालयको तथ्यांक छ। यसरी हेर्दा एक वर्षमा सवा तीन अर्बभन्दा बढी रकमका सामान निर्यातमा वृद्धि भएको छ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्ब ८१ करोड ४७ लाख ५७ हजार रुपैयाँका वस्तु निर्यात भएका थिए।

भन्सारका सूचना अधिकृत नरेन्द्रप्रसाद चौधरीले तीन वर्षमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसके पनि निर्यात भने लगातार वृद्धि भइरहेको बताए।

बेलहिया नाकाबाट सेन्थेटिक यार्न, पिना अन्य, अन्य कपडा पदार्थको बोरा झोला, भटमासको तेल प्रशोधित, चाउचाउ, नुडल्स, चोकर, भुस, अन्य रेसाको कपडा, काँच र डण्डी ट्युवहरू, अदुवा, सुठो, स्टिलका भाँडाकुँडा, जडीबुटी, प्लाष्टिकका नली पाइप, खोटो रोजिन, दालचिनी, फलामे पत्रु निर्यात हुने गर्दछ।

निर्यात भएका अधिकांश सामान भारतकै विभिन्न ठाउँमा खपत हुने र केही सामान अन्य मुलुकमा पनि जाने सूचना अधिकारी चौधरीले बताए। बेलहिया नाकाबाट सबैभन्दा बढी सेन्थेटिक यार्न निर्यात हुने गरेको छ।

आर्थिक वर्ष २०७८/०७९ देखि आर्थिक वर्ष ०८०/०८१ सम्म मात्र यो नाका हुँदै सेन्थेटिक यार्न मात्र ६ अर्ब ४२ करोड ८१ लाख मूल्यको निर्यातको भएको छ। भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा मात्र सेन्थेटिक यार्न ३ अर्ब ३६ करोड ३८ लाख ९ हजार रुपैयाँ बराबरको निर्यात गरिएको छ।

यस्तै, आर्थिक वर्ष ०८०/०८१ मा सिमेन्ट १ अर्ब ६५ करोड ८६ लाख ९ हजारको निर्यात भएको छ। सिमेन्ट क्लिंकर १ अर्ब २० करोड २७ लाख ८९ हजार, विभिन्न वनस्पतिक उत्पादन ८२ करोड ५९ लाख ३६ हजार रुपैयाँको निर्यात भएको सूचना अधिकृत चौधरीले बताए।

पिना ६६ करोड १९ लाख ७१ हजार, अल्किड रेजिन्स र अन्य रेजिन्स ६३ करोड ३५ लाख ८२ हजार, रोजिन (तार्पिन) खोटो ४७ करोड ३५ लाख ५ हजार, चाउचाउ नडुल्स पास्ता ४६ करोड ८६ लाख ५ हजार, जडिबुटी र विरुवाको अंग ४३ करोड ८० लाख ५६ हजार र प्लाइउड ४३ करोड २६ लाख ६७ हजार रुपैयाँ मूल्यको निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले निर्यातमा सुधार हुनु सकरात्मक बताए। उनले व्यवसायी मैत्री नीति सरकारले तयार गर्दै जाने हो भने नेपालका धेरै उत्पादित वस्तु भारत सहित तेस्रो मुलुकमा निर्यात गर्न व्यवसायी उत्साहित भएको बताए।

‘हामीले आयातलाई कम गर्दै निर्यात बढाउन जरुरी छ। यसका लागि राज्यले उद्योगी व्यवसायी मैत्री नीति अवलम्बन गर्नुपर्छ। ब्याजदर छुट, लगानीको वातावरण तयार गर्न नीतिगत झन्झन्टको अन्त्य भएमा धेरै निर्यातजन्य उद्योग स्थापना गर्न उद्योगीहरू तयार छन्’, उनले भने।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले निर्यातमा भइरहेको सुधार सकारात्मक भए पनि जति हुनुपर्ने हो अझै हुन नसकेको जनाए।

‘निर्यातमा थुप्रै झन्झट छन्, व्यवसायी विभिन्न कार्यालय धाउँदा र स्वीकृत लिँदालिँदै थाक्छन्’, उनले भने।

साउन ३०, २०८१ बिहीबार ०९:०४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।