पुरानै इगोमा जितु र दीपा : ‘छक्का पञ्जा ५’सँग भिड्न आयो जितुको ‘ज्वाइँ साब’

पुरानै इगोमा जितु र दीपा : ‘छक्का पञ्जा ५’सँग भिड्न आयो जितुको ‘ज्वाइँ साब’

काठमाडौं : गत वर्ष वैशाख १ मा हलमा लागेका फिल्म ‘जारी’, ‘बुलाकी’, ‘बिहे पास’लगायत हलमा लागे। यसमध्ये जारीले कमाई गर्यो भने अरू हलबाट उत्रिए। नयाँ वर्ष, दसैं तथा तिहार फिल्मकर्मीका लागि लगानी उठाउने र कमाउने अपेक्षा गरिएका मिति हुन्। 

केही दिनयता फिल्म ‘छक्का पञ्जा ५’ रिलिजले चर्चा पाइरहेको थियो। सोमबार निर्माण टिमले फिल्मको प्रमोसनल गीत ‘बिहे भाको छैन’ रिलिज गर्यो। त्यतिन्जेल यो फिल्मसँग कुनै फिल्म आउँछ भन्ने हल्ला चलेको थिएन।
 
जब मंगलबार बसन्त निरौलाले निर्देशन गरेको फिल्म ‘ज्वाइँ साब’ आयो त्यसपछि दीपकराज गिरी तथा दीपाश्री निरौलामा आफ्नो छवि गुम्नेमा खतरा बढ्यो। हरेक वर्षको फिल्ममा एकछत्र राज गर्दै आएका दीपक-दीपाको टिमले यसपटक भने जितु नेपालसँग भिड्नुपर्ने भएको छ। 

लामो समय एउटै टिममा काम गरेका दीपक-दीपाका लागि यसपटक भने चुनौती बनेर आए जितु नेपाल। आगामी असोज २४ मा दीपक-दीपाको ‘छक्का पञ्जा ५’ र जितु नेपालको ‘ज्वाइँ साब’प्रदर्शनमा आउने भएपछि भिडन्त रोचक हुने भएको छ। 

फिल्म ‘छक्का पञ्जा ५’का टिमले गत वर्षबाट नै फिल्म दसैंमा प्रदर्शन गर्ने हल्ला चलाएका थिए। सोही अनुसार उनीहरुले फिल्मको अधिकांश काम सकेर प्रमोसनलाई समय छुट्याए। तर, फिल्म ‘ज्वाइँ साब’को पोस्टर सार्वजनिक भएको छ भने एउटा गीत अझै खिच्न बाँकी रहेको छ। फिल्मको छायांकन पुरा नभई प्रदर्शन मिति तोकेपछि उनीहरुको २४ मा कसको पावर कति दर्शक तान्नेमा होडबाजी नै चल्नेछ। 

यसैबीच छक्का पञ्जा ५ का निर्माता तथा कलाकार समेत रहेका केदार घिमिरेले भनेका छन्, ‘हाँस्य कलाकारहरूको बीचमा यस्तो कन्फ्लिक्ट अहिले सम्म कहिल्यै भएको छैन र यो पनि वार्ता र संवादको माध्यमबाट हल हुनेछ।’

यता बसन्तले भने दशैंको विदाको समयमा फिल्म चल्ने भएकाले त्यो समय रोजिएको बताए। उनका अनुसार निर्माताले दशैंको समयमा फिल्म चलाउने भन्ने कुरो गरेपछि फूलपातीको समय रोजिएको जानकारी दिए। 

दुवैको थिम पनि उस्तै 
दुवै फिल्मको थिम उस्तै रहेको बुझिन्छ। ‘छक्का पञ्जा ५’मा दीपकराज गिरी र वर्षा शिवाकोटी बेहुला-बेहुली बनेका छन्। फिल्मको नयाँ गीत ‘बिहे भाको छैन’मा दुलाहा-दुलही बनेको देखिन्छ। पोस्टरमा पनि बिहेकै कुरालाई जोडिएको छ। यता बसन्त निरौलाले निर्देशन गरेको फिल्म ‘ज्वाइँ साब’मा जितु नेपालले नीति शाहसँग बिहे गरेर डोली चढेको सिन देखिन्छ। जसमा बुद्दि तामाङ र कमेडी च्याम्पियनका विजेता बनेका हिमेश पन्तले उनीहरुको डोली बोकेका छन्।  

पुरानो इगोमा जितु र दीपा 
जितु नेपालको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’मा अध्यक्षको भुमिका निवार्ह गरेकी दीपालाई हटाएपछि उनीहरूबीचको लफडा चर्किएको थियो। दीपाले आफूलाई कमेडी क्लबबाट हटाएपछि छक्का पञ्जा टिमले जितुलाई हटाएकी थिइन्। एक दशकअघि फिल्म ‘६ एकान ६’बाटको सुरू भएको उनीहरुको सहकार्य ‘मुन्द्रेको कमेडी क्लब’बाट टुङ्गिएको थियो। 

छक्का पञ्जा टिमबाट जितुका अलावा सीताराम कट्टेल, शिवहरी पौडेल, निर्मल शर्मा पनि बाहिरिएका थिए। केही फिल्मपछि भने निर्मल शर्मा छक्का पञ्जा ५ बाट निर्माता तथा कलाकारका रुपमा जोडिएका छन्। उनी यो फिल्मको कार्यकारी निर्माताका रुपमा रहेका छन्। यो टिमबाट केदार घिमिरे माग्ने बुढा भने अहिलेसम्म यथावत् छन्। 

यहाँबाट बाहिरिएका कलाकार तथा निर्माताहरू आफूहरूको मनमुटाव बारेमा बोलेका छैनन्। इगोका रुपमा आफूलाई प्रस्तुत पनि गरेको देखिंदैन। 

तर, जितु र दीपाले भने फिल्मको पर्दाबाट नै इगो पोखिरहेका छन्। उनीहरुले आफूहरूबीच कुनै त्यस्तो इगो नभएको बेला बेलामा स्पष्टीकरण दिँदै आएका थिए। अब भने त्यो स्पष्टीकरणले काम नगर्ने भएको छ। उनीहरूबीचको इगोलाई यहि फिल्मको प्रदर्शन मितिले छर्लङ्गै पारिदिएको छ। 

‘ज्वाइँ साब’को भने अझै एउटा गीत छायांकन गर्न नै बाँकी छ। फिल्म प्रदर्शन गर्न डेढ महिनाभन्दा बढि समय बाँकी राख्दै ‘ज्वाइँ साब’फूलपातिबाट देशभरका हलमा रिलिज गर्ने घोषणा गरेको हो। छक्का पञ्जाकै टिमका कलाकार बुद्दि तामाङ यसैमा जोडिएका छन्। 

यो फिल्ममा जितुसँगै नीति शाह, वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरूले अभिनय गरेका छन्। विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहेको छ। 

यता छक्का पञ्जा ५ मा दीपकराज गिरी,केदार घिमिरे,वर्षा शिवाकोटीका अलावा अन्य रहेका छन्। थप कलाकार को को छन् भन्ने कुरालाई निर्माण टिमले  सार्वजनिक गरेको छैन। केदार घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको यो फिल्मको कथा तथा पटकथा दीपकराज गिरी, केदार घिमिरे, दिलिप तामाङ मिलेर लेखेका हुन्।

यही मितिमा ‘छक्का पञ्जा ५’,‘ज्वाइँ साब’का अलावा विराज भट्टको ‘१२ गाउँ’ पनि प्रदर्शनमा आउने चर्चा छ। तर, अहिलेसम्म निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गरेको छैन। 

यता, हलिउडका चर्चित फिल्म ‘जोकर’को सिक्वेल ‘जोकर २’लाई पनि दशैंको फूलपातीमा नै आउने तयारीमा छ। यो फिल्म हलमा लाग्यो भने चार वटा फिल्मको कडा प्रतिस्पर्धा हुने देखिन्छ।  

साउन २८, २०८१ मंगलबार १५:२३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।