‘ह्रस्व दीर्घ’को पहिलो गीत, दुर्गेशको स्वर अनि हरिहरको नाचको हरिबिजोग!

‘ह्रस्व दीर्घ’को पहिलो गीत, दुर्गेशको स्वर अनि हरिहरको नाचको हरिबिजोग!

काठमाडौं : दुई वर्षदेखि निर्माण थालेको फिल्म ‘ह्रस्व दीर्घ’को निकै हल्ला खल्ला भयो। नेपाली फिल्मका कलाकारले नपत्याएर भारतीय कलाकार राखेर निर्माण गरियो। कहिले अभावमा त कहिले दबाबमा निर्माण टिमले फिल्मको छायांकन सकायो।

असोज ३ लाई फिल्मको प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले केही थान पोस्टर सार्वजनिक गरेपछि पहिलो गीत रिलिज पनि गरियो। 

भिडियोमा महँगो सेटअपमा खिचिएको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा फिल्मका मुख्य कलाकार हरिहर अधिकारी र नीता ढुङ्गानाले नाचेका छन्। फिल्मको पोस्टर रिलिज हुँदा एकप्रकारको प्रचार बढेको देखिन्थ्यो। जब गीत रिलिज भयो तब दर्शकले युट्युबमै खिल्ली उडाउन थालेका छन्। दुर्गेश थापाको स्वर र हरिहरको नाचले दर्शकलाई पहिलो झड्कामै फिस्स पारेको हो। 

त्यो गीतको सेटअपमा दुर्गेश थापाको संगीत, शब्द रचना र एरेञ्जको कुनै तालमेल नै मिल्दैन। गायनको कुरा गर्ने हो भने, दुर्गेशको भन्दा सदिक्षा कट्टेलको ठिकै लाग्छ। एकपछि अर्को पोस्टरले यो फिल्मको चर्चा सेयर बजारको जस्तै भयो। गीत हिट हुनु अघिसम्म हल्ला बढेको तर, गीत रिलिजपछि एकाएक सेलायो। 

सुष्मा सुनामको कोरियोग्राफी रहेको यो गीतले दर्शकमाझ फिल्मको प्रचार स्वात्तै घटाएको छ। 

अब यति भन्न सकिन्छ, यो भन्दा तल्लो स्तरको गीत रिलिज गरियो भने बचेकुचेको प्रचार पनि नगुम्ला भन्न सकिँदैन है! कमसेकम ननाचेर टाउकै हल्लाको भए पनि बेस हुन्थ्यो। 

अब नाचेर हरिबिजोग देखाउनु त यति महँगो सेटको आवश्यक नै पर्दैन नि, कि कसो हो!

साउन २६, २०८१ आइतबार ११:३२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।