हैजा नियन्त्रणका लागि १४४ अस्पतालमा स्वास्थ्य मन्त्रालयको निगरानी
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका १४४ अस्पतालहरूमा उपचाररत झाडापाखलाका बिरामीहरूमा नियमित रुपमा हैजाको निगरानी गरिरहेको छ।
मंगलबार मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको काम र योजना सार्वजनिक गर्दै हैजा प्रभावित क्षेत्रहरूमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेको जनाएको छ।
स्वास्थ्य मन्त्रालयकाअनुसार, जिल्ला र स्थानीय तहमार्फत खानेपानीको गुणस्तर निगरानी सम्बन्धी कार्य प्रभावकारी रूपमा भइरहेको छ।
एउटै टोलबाट एक हप्ताभित्रमा पाँच जना भन्दा बढि झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्क गरी जानकारी गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ।
प्रभावित क्षेत्रमा रोग नियन्त्रण र रोकथामको लागि आवश्यकताअनुसार विज्ञ परिचालन गर्ने, नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको शुदृढिकरणका लागि सरोकारवाला निकायहरूबीच एकीकृत समन्वय गर्ने र राष्ट्रिय हैजा नियन्त्रण/रोकथाम योजना २०२४–२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने मन्त्रालयको योजना छ।
साउन २१, २०८१ मंगलबार १६:२०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।