अर्काको जग्गामा त्रिपाल टाँगेर श्रीमतीको काजकिरिया गरिरहेका चन्द्रका परिवारलाई २ छाक टार्नै मुस्किल!

अर्काको जग्गामा त्रिपाल टाँगेर श्रीमतीको काजकिरिया गरिरहेका चन्द्रका परिवारलाई २ छाक टार्नै मुस्किल!

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–९ का ५२ वर्षीय चन्द्र कामी यतिबेला पालमा बसेर श्रीमतीको काजकिरिया गरिरहेका छन्। अरूको जग्गामा पाल टाँगेर ६ दिनदेखि उनको परिवार काजकिरियामा छ। संस्कार अनुसार उनले १३ दिन यही त्रिपालमा काट्नुपर्नेछ।

पुर्ख्यौली घर जाजरकोट भएका चन्द्रको परिवार विगतदेखि नै ज्याला-मजदुरी गरेर जिविका चलाइरहेको थियो। अर्काको जग्गामा सानो छाप्रो लगाएर बसेका उनको छाप्रो पनि पानीले भत्काइदियो। सानै उमेरमा बुवाआमा गुमाएर बेसहारा भएका उनलाई फुपू जलधारा सुनारले पालनपोषण गरेकी थिइन्। 

विवाह गरेपछि दैनिक मजदुरी गरेर एक छोरा, एक छोरी र श्रीमतीको पालनपोषण उनको काँधमा आइपर्यो। 

ज्याला-मजदुरी गरेरमात्रै घर व्यवहार चल्नै मुस्किल भएपछि यही साउनको पहिलो साता चन्द्र र उनकी ४५ वर्षीया श्रीमती गोमा कामी भारतको चण्डीगढ गएका थिए। दुर्भाग्यवश, भारत गएको दुइ दिनमै गोमाको मृत्यु भयो। शव घर ल्याउने रकमसमेत नभएपछि चन्द्रले श्रीमतीको शवलाई भारतमै दाहसंस्कार गरे। 

तर, काजकिरिया गर्न भने उनी वीरेन्द्रनगर आए, त्यो पनि गाउँलेले उठाएर गाडीभाडा पठाएपछि। 

आफ्नो घर र जग्गा नहुँदा स्थानीय गबर विश्वकर्माको जग्गामा उनीसँगै २६ वर्षीय छोरा मेघराज र बुहारी त्रिपालमा बसेर काजकिरिया गरिरहेका छन्। 

उनले वर्षायाममा पानी परिरहेकाले त्रिपालमुनिको बास निकै कष्टकर भएको सुनाए। बसाइ मात्र होइन, छाक टार्न समस्या भएको उनले भने।

‘१० दिनअघि ज्याला-मजदुरीका लागि हामी दुई जना चण्डीगढ पुगेका थियौं। त्यहाँ ढुङ्गा बोक्ने काम सुरू गरेका थियौं,’ चन्द्रले भने, ‘दुई दिनमै श्रीमतीको मृत्यु भयो। नेपाल ल्याउने पैसा नभएपछि उतै दाहसंस्कार गरें। फुपू र गाउँलेले भाडा पठाएपछि यता फर्किएँ।’

सँगै काम गरेर फर्किएकी श्रीमतीको सुतेकै अवस्थामा मृत्यु भएपछि चन्द्रलाई पर्नुसम्मको पीर परेको छ।

काजकिरिया बसेका छोरा मेघराज ट्याक्टर चलाउँदै गर्दा दुर्घटनामा परी खुट्टा भाँचिएकाले गाह्रो काम गर्न सक्दैनन्। छोरी सानै भएकोले अब छोराछोरीको लालनपालन कसरी गर्ने भन्ने चिन्ता थपिएको उनले बताए।

चन्द्रको परिवारको बास र गाँसको कुनै टुङ्गो छैन। छिमेकीले दिएको एक/दुई छाक चामलबाट उनले गुजारा गरेका छन्। 

छाक टार्ने खाद्यान्नसमेत नहुँदा चन्द्र परिवारले सहयोगको याचना गरेको छ। 

साउन २०, २०८१ सोमबार २०:०८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।