सांसद अमरेशको प्रश्न’ बुक भ्यालु ७७ रुपैयाँ भएको अम्बिका पौडेलको हाथवे इन्टरनेसनलको शेयर मूल्य १६ सय कसरी पुग्यो ?

सांसद अमरेशको प्रश्न’ बुक भ्यालु ७७ रुपैयाँ भएको अम्बिका पौडेलको हाथवे इन्टरनेसनलको शेयर मूल्य १६ सय कसरी पुग्यो ?

काठमाडौँ : इन्भेस्टर र सेयर ब्रोकरले सिन्डिकेट गरेर कृत्रिम रूपमा सेयर बजार बढाएर साना लगानीकर्ताहरूमाथि ठगी भइरहेको भन्दै सांसद अमरेश कुमार सिंहले छानबिनको माग गरे।  सोमबारको संसद् बैठकमा इन्भेस्टर र ब्रोकरको कार्टेलिङबाट कमजोर वित्तीय अवस्था रहेका कम्पनीहरूको मूल्य कृत्रिम रूपमा बढाएर ठगी भइरहेको उनको दाबी छ।

उनले बैठकमा कम्पनीको नामै लिएर ती कम्पनीहरूको मूल्य कसरी बढिरहेको छ भन्दै प्रश्न गरेका थिए। ‘दीपेन्द्र अग्रवालको नेपाल फाइनान्स लिमिटेडको एक महिनाअघि सेयरको भाउ जम्मा ६ सय रुपैयाँ थियो। तर, एक महिनापछि २१ सय ५४ रुपैयाँ भयो। यसको बुक भ्यालु १ सय ३४ रुपैयाँ छ। प्राइस र अर्निङ रेसियो हेर्दा कहाँबाट के–कारणले यो बढ्यो?’ उनले प्रश्न गरे।

सन्दीप जलानको एनआरएन इन्फ्रास्ट्रकर एन्ड डेभलप्मेन्ट लिमिटेडको सेयर मूल्य ३ सय रुपैयाँबाट बढेर १ हजार ५० रुपैयाँ पुगेको र यसको बुक भ्यालु १ सय ४७ रुपैयाँ रहेको, अनिल रुगंटाको सीडीएन हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीको सेयर मूल्य ६५० रुपैयाँ रहेकोमा अहिले १८ सय रुपैयाँ रहेको र यसको बुक भ्यालु जम्मा १७० रुपैयाँ रहेको उनले बताए।

अम्बिका पौडेलको हाथवे इन्टरनेसनल नेपाल लिमिटेडको सेयर मूल्य ३ सय रुपैयाँ रहेकोमा अहिले १६ सय रुपैयाँ पुगेको र यसको बुक भ्यालु ७७ रुपैयाँ मात्र रहेको उनले बताए। अम्बिका नेपाली सेयर बजारका ठुला कारोबारीका रूपमा परिचित छन्।

उनले इन्भेस्टर र सेयर ब्रोकरको सिन्डिकेटलाई मोडस अपरेन्डीका रूपमा प्रयोग गरिएको र क्लब हाउस, सोसल मिडियाबाट प्रोपोगान्डा गराएर कर्नरिङ गर्ने काम भइरहेको बताए।

जनताको संरक्षक नेपाल सरकार हुने भएकाले सेयर बजारलाई नियमन गर्न माग गरेका थिए।

साउन २०, २०८१ सोमबार १५:५१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।