प्रधानमन्त्री ओलीले त्रिविको नीति तथा कार्यक्रम रोकेपछि सुमनाको आक्रोश : हामी हिसाब राख्ने छौं

प्रधानमन्त्री ओलीले त्रिविको नीति तथा कार्यक्रम रोकेपछि सुमनाको आक्रोश : हामी हिसाब राख्ने छौं

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको भन्दै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले ओलीप्रति आक्रोश पोखेकी छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि हो? भन्दै प्रश्न सोधेकी छन्।

'विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो त्यो। रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भइसकेको छ, के चाहिँ चित्त बुझेन छ यहाँलाई?' उनले लेखेकी छन्। 

उनले हेरफेर भएको कार्यक्रमको हिसाब राख्ने चेतावनी दिएकी छिन्। 

'स्मरण रहोस् नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्छ, के के हेरफेर हुन्छ हामी हिसाब राख्ने छौँ,' उनले लेखेकी छिन्।

पदेन कुलपति रहेका प्रधानमन्त्रीले २०८१ साल श्रावण १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोकेका थिए।

नीति तथा कार्यक्रम रोकिएपछि त्रिविका उपकुलपति केशरजङ बरालसमेत प्रधानमन्त्री ओलीसँग रुष्ट छन्। 

गत मंगलबार त्रिभुवन विश्वविद्यालय सभा (सिनेट) को बैठकमा चालु आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गर्नुपर्ने त्रिविको कार्ययोजना थियो तर प्रधानमन्त्री ओलीले रोके। 

त्यसपछि त्रिवि सभामै उपकुलपति बरालले असन्तुष्टि व्यक्त गर्दै त्रिवि उल्टो गतिमा हिँडेको समेत टिप्पणी गरे। 

साउन १६, २०८१ बिहीबार २०:४५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।