हैजा सङ्क्रमण बढ्दै, इमाडोल, गोदावरी, टोखा र धनगढीमा सचेत हुन मन्त्रालयको आग्रह

हैजा सङ्क्रमण बढ्दै, इमाडोल, गोदावरी, टोखा र धनगढीमा सचेत हुन मन्त्रालयको आग्रह

काठमाडौँ : केही साता यता काठमाडौँ, ललितपुर र धनगढीमा २२ जनामा हैजा पुष्टि भएको छ। ललितपुरको गोदावरी र इमाडोल क्षेत्रमा १४ जना र काठमाडौँको टोखा र तथा कैलालीको धनगढीमा हैजा सङ्क्रमित भेटिएका हुन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हैजा अति सङ्क्रामक तथा शीघ्र फैलने भएकाले सबैलाई सजग रहन र जुनसुकै स्रोतको पानी भए पनि उमालेर मात्र खान आग्रह गरेका छन्।

हैजा सङ्क्रमितहरूमा झाडापखालासहित पातलो चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने, बान्ता हुने र कडा जलवियोजनका लक्षण देखिने मन्त्रालयले जानकारी दिएको छ।

हैजाको जीवाणुबाट सङ्क्रमित भएकाहरूले समयमा नै उचित स्वास्थ्योपचार नपाएमा मृत्यु हुने जोखिम उच्च रहेको भन्दै डा. बुढाथोकीले हैजा सामान्य झाडापखाला जस्तो नभएकाले तुरुन्तै स्वास्थ्य संस्था नपुगे ५० प्रतिशत सम्म मृत्युदर हुने बताए।

'हैजा सङ्क्रमित ८० प्रतिशतमा कुनै लक्षण नहुने तर उनीहरूको दिसामा सङ्क्रमित भएको १० दिनसम्म हैजाको जीवाणु हुनसक्ने भन्दै उनले त्यस्ता सङ्क्रमितले अरूलाई सार्न सक्ने सम्भावना धेरै हुने भएकाले सचेत हुन आग्रह गरेका छन्।

डा. बुढाथोकीका अनुसार देशका अन्य स्थानबाट पनि हैजा सङ्क्रमित भेटिएको खबर आए पनि र्याप किटको परीक्षणमा मात्रै देखिएको र प्रयोगशालामा कल्चर गरेर हेर्दा 'भित्रियो कोलेरा' भेटिएको छैन।

'सबै झाडापखाला हैजा होइन। हैजा परीक्षण गर्नका लागि र्याप किट पनि पाइन्छ। तर त्यो भरपर्दो छैन। यकिन गर्न प्रयोगशालामा कल्चर नै गरेर हेर्नुपर्छ,' उनले भने।

साउन १५, २०८१ बुधबार २०:२४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।