उपत्यकाको विभिन्न ठाउँमा डुवानमा परेकाहरूको यसरी भइरहेछ उद्धार (तस्बिरहरू)

उपत्यकाको विभिन्न ठाउँमा डुवानमा परेकाहरूको यसरी भइरहेछ उद्धार (तस्बिरहरू)

काठमाडौं : मंगलबार रातीदेखि परेको अविरल वर्षाका कारण उपत्यकाको विभिन्न ठाउँमा डुबानमा परेकाहरूको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-२ स्थित बालकोटमा वर्षाको कारण गोदावरी खोलामा पानीको बहाव बढी डुबानमा परेका चार जनाको सकुशल उद्धार गरिएको छ। उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस व्यासी भक्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका-१० शंखमुल क्षेत्रको २ वटा घरभित्र छिरेको पानी सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण सिनामंगलको सुरक्षा फौजले प्रोटेबल पम्प प्रयोग गरी फालिएको छ।

यसैगरी थापाथलीस्थित सुकुम्वासी बस्तीमा बागमती नदीको पानी पसेर डुबान भएकोमा सोही गणबाट खटिएको विपद् उद्धार तालिम प्राप्त फौजले बस्तीको पानी कटान गर्ने कार्य गरेको छ।

अविरल वर्षाको कारण कीर्तिपुर नगरपालिका-१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले उद्धार गरेको छ।

वर्षाको कारण बाढीमा फसेको खबर पाएपछि बिहान ५ बजे सो गणबाट फौज परिचालन गरिएको थियो। उनीहरूलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो।

यसैगरी साँखु-भोटेचौर सडकखण्ड अन्तर्गत देउरालीमा अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध भएको सडक सुरक्षा वेश लप्सीफेदीबाट खटिएको सुरक्षा फौज र स्थानीय वासिन्दाले स्काभेटरको सहायताले सुचारु गरेको छ।

काठमाडौंको नागार्जुन नगरपालिका-३ ईचङ्गुनारायणस्थित लकजोल टोलमा वर्षाको कारण पहिरो आई पुरिएको टहरामा रहेको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन तथा पशुचौपाया सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ बंगलामुखी विशेष कार्यदल गणबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा स्थान्तरण गरेको छ।

यसैगरी ललितपुरको सानेपास्थित राजतिर्थमा अविरल वर्षाको कारण बाग्मती नदीमा आएको बाढीले डुवानमा परेका ६ जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणको सुरक्षा फौजले सकुशल उद्धार गरेको छ।

साउन १५, २०८१ बुधबार १२:५१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।