नयाँ दलप्रति बाबुराम : ४ जना मान्छे जम्मा भएर पार्टी गठन गर्दैमा वैकल्पिक शक्ति हुँदैन

नयाँ दलप्रति बाबुराम : ४ जना मान्छे जम्मा भएर पार्टी गठन गर्दैमा वैकल्पिक शक्ति हुँदैन

काठमाडौं : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्टी गठन गरेर एजेन्डा उठाउँदैमा वैकल्पिक शक्ति बन्न नसकिने बताएका छन्। 

शनिबार डा. मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम: एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वैकल्पिक अवधारणा, सोच, नीति र कार्यक्रम लिएर जानु मात्र वैकल्पिक शक्ति भएको भन्दै पार्टी गठन गर्दैमा वैकल्पिक नहुने बताए। 

उनले भने, ‘पार्टी गठन गर्ने, चारजना मान्छे जम्मा हुने, एउटा नेता हुने, एक खालको एजेन्डा उठाइदिने वैकल्पिक भन्ने जस्तो देखिन्छ त्यस्तो हुनु हुँदैन। जसले वैकल्पिक अवधारणा, वैकल्पिक सोच, नीति कार्यक्रम र विश्व र नेपाल सुहाउँदो नीति व्यवहार र आचरण लिएर जान्छ त्यो नै वैकल्पिक भएर आउँछ।’

उनले भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म नेपालको विकास हुन नसक्ने भन्दै यसलाई तथ्यको आधारमा नयाँ पुस्ताले अघि बढाउनुपर्ने बताए। 

उनले भने, ‘म कसैलाई गाली गर्ने पक्षमा छैन। तर, भारतको अर्थतन्त्र ठूलो छ, हाम्रो सानो छ। खुला सिमानाले गर्दा प्रतिस्पर्धा गर्नै सकिँदैन, त्यसले गर्दा भारतसँगको जुन असमान सम्बन्ध बन्यो, त्यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन।’

साउन ४, २०८१ शनिबार १७:०५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।