सातबुँदे सहमतिपत्र सार्वजनिक नहुँदा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिनेमा पुग्यो राप्रपा

सातबुँदे सहमतिपत्र सार्वजनिक नहुँदा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिनेमा पुग्यो राप्रपा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत भने नदिने भएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनको मुद्दामा सघाउन तयार भएपनि अहिले विश्वासको मत दिने आधार तयार नभएको बताए।

उनले भने, ‘हामी विश्वासको मत दिँदैनौँ, तत्काल सरकारलाई पनि समर्थन गर्दैनौं। विश्वासको मत दिने कारण नै बनेको छैन किन दिने र? संविधान संशोधनको विषय उठाएको हुनाले यसलाई सकारात्मक रूपमा लिएका थियौँ। अहिले कुनै लक्षण देखिएन।’

उनले कांग्रेस-एमालेबीच भएको सातबुँदे सहमति पत्र अझै गोप्य राखिएकोप्रति आशंका गर्दै त्यसलाई तत्काल सार्वजनिक गर्नुपर्ने बताए। 

संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखाएको उनको भनाइ छ। 

संविधान संशोधनको सिँढी बनाएर वा खोल ओढेर सत्ता सहकार्यका लागि मात्रै मिलेको महसुस हुन थालेको भन्दै उनले आफूहरू विश्वासको मत नदिनेमा पुगेको बताए। 

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदैछन्।

साउन ४, २०८१ शनिबार १५:४५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।