...त्यसपछि साउदीमा मृत्युदण्डको सजाय सुनाइएका रामआशिषको ज्यान जोगिने भयो!

...त्यसपछि साउदीमा मृत्युदण्डको सजाय सुनाइएका रामआशिषको ज्यान जोगिने भयो!

बुटवल : साउदी अरेबियाको ताबुक क्रिमिनलकोर्टबाट मृत्युदण्डको सजाय सुनाइएका धनुषाको जनकपुर नगरपालिका–१७ का रामआषिश यादवले जीवनदान पाउने भएका छन्। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालको पहलमा मृत्युको नजिक पुगेका यादवले जीवनदान पाउने भएका हुन्। जसमा भैरहवाका उद्योगी–व्यवसायीको साथ महत्वपूर्ण रह्यो। 

सन् २०१८ सेप्टेम्बर ६ तारिखमा यादवको छुरा प्रहारबाट सँगै काम गर्ने रुपन्देहीको कञ्चन गाउँपालिका–४ का दुुर्गाप्रसाद शर्माको ज्यान गएको थियो। उक्त घटनामा २०२० डिसेम्बर २० मा साउदी अरेबियाको अदालतले ५ वर्ष कैद र त्यसपछि पीडित परिवारसँग ब्लडमनीमा सम्झौता नभए यादवलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो। 

यादवको तर्फबाट पीडित परिवारलाई दिन ब्लडमनीबापत ४६ लाख २५ हजार नेपाली रुपैयाँ दिनुपर्ने थियो। तर, यादव परिवारसँग उक्त रकम जुटाउन हम्मेहम्मे थियो। त्यसपछि प्रजिअ अर्यालको पहलमा जुट्यो। 

बुधबार उक्त रकम कञ्चन गाउँपालिका–४ का दुर्गाप्रसाद शर्माको पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।

रूपन्देहीका उद्योगी-व्यवसायीहरूले ३६ लाख २५ हजार अनि यादवकी श्रीमती रेनोकुमारीले आफ्नो भएको १५ धुर खेत, अढाइ धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख जुटाएपछि ब्लडमनी बापतको रकम बुझाउन सम्भव भएको हो। 

गत चैत १२ गते साउदीमा मृत्युदण्डको फैसला सुनाइएपछि नेपालमा पीडित परिवारलाई पैसा दिन सक्ने/नसक्ने बारे खुलाउन कन्सुलर विभागले रुपन्देहीमा पत्र पठाएको थियो। विभागले पीडित परिवारसँग सम्झौता हुने/नहुनेबारे खुलाएर पठाउन जिल्ला प्रशासन, रुपन्देहीमा पत्र पठाएको थियो। 

त्यसपछि प्रजिअ अर्यालले ब्लडमनी बापतको रकम जुटाउन लागि परेर रकम दिनेबारे परिवारसँग सहमति गरे। जसले गर्दा मृत्युको मुखमा पुगेका यादवको ज्यान बच्ने पक्का भएको छ।

‘हामीले दुुर्गाप्रसाद शर्माको परिवारलाई हारगुहार गर्यौं। शर्माको मृत्यु एउटा नियतिले भएको हो। तपाईंहरूको अडानले देशमा एउटी नेपाली महिला विधुवा नबनाउँ भनेर ३ महिनादेखि हार-गुहार गरेका हौँ। मैले आशु नै चुहाएर मृत शरीर आउँदैन, नियतिले ठग्यो, तपाईंले सम्झौता गर्नुस् भनेर शर्माको परिवारलाई भनें, त्यसपछि अरू प्रक्रिया अघि बढ्यो,’ उनले भने।

उनले शर्माको परिवारमा परेको बज्रपात पनि असह्य रहेको तर पनि मृत्युदण्ड कुरेकालाई उहाँहरूकै सम्झौताअनुसार बचाउन सकिएको बताए।

‘३ महिनासम्म सम्झायौं, बुझायौं। कञ्चन गाउँपालिका अध्यक्षले पनि सहजीकरण गर्नुभयो। अन्तिममा यो सहमतिका लागि उहाँहरू तयार हुनुभयो,’ उनले भने।

प्रजिअ अर्यालले यादवका कारण रुपन्देहीकी सीताकुमारी शर्माको सिन्दुर पुछिएको र छोराछोरी टुहुरा भएपनि ब्लडमनी सम्झौता नभए धनुषाकी रामआषिशकी श्रीमती रेनोकुमारीको पनि सिन्दुर पुछिने र तीन छोरीले बुवा गुमाउने भएकाले यो सम्झौता गर्नुपरेको बताए।

ब्लडमनी जुटाउन निजी क्षेत्रबाट उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा र सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले प्रजिअ अर्याललाई साथ दिएका थिए।

रामआशिषसकी श्रीमती रेनोकुमारीले शर्मा परिवारकै सहमतिले आफ्नो श्रीमान मृत्युको मुखबाट फर्केर आउन लागेको भन्दै खुसीको आँसु बगाइन्। उनले उक्त अभियानमा जुट्ने सबैलाई धन्यवाद पनि दिइन्। 

मृत्युदण्डको सजायबाट बचाउन जिल्ला प्रशासनले आवश्यक तयारी पूरा गरेर कागजात बुधबार कन्सुलर विभागमा पठाएको छ।

यादवले शर्माको हत्या किन गरे?
एउटै कोठामा बस्ने र एउटै कम्पनीमा काम गर्ने कञ्चन गाउँपालिकाका दुर्गालाई रामआशिषले २०१८ अक्टोबर ६ मा धारिलो छुरा प्रहार गरी हत्या गरे। आवेगमा शर्मामाथि यादवले चक्कु प्रहार गरेको बताइन्छ।

त्यसपछि त्यहाँको अदालतले यादवले हत्या गरेको प्रमाणित गर्दै बर्षपछि दुवै परिवारबीच ब्लडमनी सम्झौता नभए फाँसीमा जाने फैसला गरेको थियो। 

यो फैसलापछि मात्र यादवकी श्रीमती रेनोकुमारीले थाहा पाइन्। आर्थिक स्थिति कमजोर रहेको परिवारलाई ५० लाख ब्लडमनी बापत रकम जुटाउन सकस हुने भइनैहाल्यो। अदालतको निर्णय कन्सुलर विभाग हुँदै त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय रूपन्देहीलाई पनि प्राप्त भयो ।

त्यसपछि प्रजिअले ब्लडमनी बापतको रकम सम्झौता गराएर रेनोकुमारीको सिउँदो पुछिनबाट जोगाउन लागेका थिए। 

यादवका १८ वर्षीया आरती, १५ वर्षीया पूजा र १० वर्षीया सन्जु गरी तीन छोरीहरू छन्।

असार २५, २०८१ बुधबार १९:५४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।