मधेसमा कांग्रेसले चार मन्त्रालय मागेपछि विवाद, एमालेसहित छलफल गर्दै मुख्यमन्त्री

मधेसमा कांग्रेसले चार मन्त्रालय मागेपछि विवाद, एमालेसहित छलफल गर्दै मुख्यमन्त्री

जनकपुर : मधेस प्रदेशमा २२ सिट रहेको नेपाली कांग्रेसले चार मन्त्रालय मागेपछि विवाद भएको छ। २५ सिट भएको एमाले चार मन्त्रालयसहित सरकारमा छ। मुख्यमन्त्री सतिशकुमार सिंहले तीन मन्त्रालय दिन चाहे पनि कांग्रेसले स्वीकार गरेन।

कांग्रेस मधेस संसदीय दलले आइतबार मधेस सरकारमा जान रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायको नाम टुङ्गो लगाएको छ।

तर एमालेले मधेस सरकारमा कांग्रेस सरकारमा एमालेकै हैसियतमा सहभागी भए थप एक मन्त्रालय दिनुपर्ने माग गरेपछि मुख्यमन्त्री सिंहले दुवै दलका संसदीय दल प्रमुखसँग छलफल गर्ने भएका छन्।

एमाले-माओवादी सरकारको गठबन्धनबाट मधेसमा जनमत पार्टीको नेतृत्वमा सरकार गठन भएको थियो। जनता समाजवादी पार्टी नेपाल विभाजित भएसँगै केन्द्रबाट जसपा नेपाल बाहिरिएपछि जनमतको नेतृत्वमा सरकार बनेको थियो।

केन्द्रमा सत्ता समीकरण बदलिएर कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएसँगै जनमतले मधेसमा आफ्नो नेतृत्व स्विकारे केन्द्रमा नयाँ गठबन्धनलाई सघाउने बताएको थियो।

मधेसमा सरकार बनाउन कांग्रेस र एमालेको मात्र मतले नपुग्ने भएपछि दुवै दलले जनमतकै नेतृत्वलाई निरन्तरता दिने सहमति गरेसँगै मुख्यमन्त्रीले माओवादी केन्द्र र एकीकृत समाजवादीबाट मन्त्री बनेका ६ जनालाई शनिवार बर्खास्त गरेर पछि उनले विश्वासको मत पाएका थिए। सिंहले सरकार विस्तार गर्दै कांग्रेससहित लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत सरकारमा सहभागी गराउँदै छ।

असार २२, २०८१ आइतबार १६:२४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।