एमालेलाई माओवादीको जबाफ : अनैतिक र भ्रष्टहरूले प्रचण्डलाई नैतिकताको पाठ सिकाइराख्नु पर्दैन

एमालेलाई माओवादीको जबाफ : अनैतिक र भ्रष्टहरूले प्रचण्डलाई नैतिकताको पाठ सिकाइराख्नु पर्दैन

काठमाडौं : माओवादी केन्द्रका लेखनाथ दाहालले कसैले चाहँदैमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा दाहालले प्रधानमन्त्री संविधानानुसार अघि बढ्ने र त्यसअनुसार सरकारलाई दिएको समर्थन फिर्तापछि एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक अधिकार भएको स्मरण गराए। 

उनले भने, ‘सरकारलाई समर्थन दिएको राजनीतिक दलले विश्वासको मत फिर्ता लिइसकेपछि सरकारले १ महिनाभित्र विश्वासको मत लिने संवैधानिक प्रावधान छ। प्रधानमन्त्रीज्यूले यही असार २८ गते विश्वासको मत लिने निर्णय गरिसक्नुभएको छ। संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन खोज्नु अनैतिक हुनु हो? कसैले चाहँदैमा राजीनामा आउँदैन। तपाईँहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन। अनि कोही अनैतिक र भ्रष्टहरूले नैतिकताको पाठ पनि सिकाइराख्नु पर्दैन।’

त्यसअघि एमाले सांसद रघुजी पन्त, लीलानाथ श्रेष्ठ लगायतले प्रधानमन्त्री प्रचण्डले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएका थिए।  

असार २२, २०८१ आइतबार १३:४६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।