बालेनलाई विशाल भण्डारीको सटाएर : सबै दोष केपी ओलीमा हाल्दिने अनि चिल्डमा बस्ने

बालेनलाई विशाल भण्डारीको सटाएर : सबै दोष केपी ओलीमा हाल्दिने अनि चिल्डमा बस्ने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले जताततै भत्काउने मात्रै गरेपछि कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा ' साथी अब बनाम्, भत्काउन पुगिसक्यो' लेख्दा बालेनसँगै उनका प्रशंसक खनिए।

बालेन प्रश्नको उत्तरभन्दा व्यक्तिगत प्रतिक्रियामा उत्रिँदै 'बिकाऊ मान्छेको प्रश्नको उत्तर दिनु छैन' भन्दै पन्छिए।

विशालले प्रश्न गर्न नपाइने भन्दै गरेको प्रतिप्रश्नमा बालेनले 'प्रश्न गर्न पाइन्छ तर दारु खाएर काम गर्ने मान्छेलाई राती राती दुख दिन पाइन्न' लेखे।

यी दुईको फेसबुके जुहारी ट्रोलर र कमेडी सोहरूमा लामै समय खुराक बन्यो। लामो समय विशाल बालेनप्रति मौन बसे।

आइतबार विशालले फेसबुकमार्फत बालेनलाई पुन सटाएर हानेका छन्। प्रसङ्ग मेयर बालेनको शनिबारको स्टाटस।

पछिल्लो समय बालेन एमाले अध्यक्ष केपी ओलीप्रति आक्रामक छन्। गिरिबन्धु टि स्टेटको जग्गा सट्टाभर्ना निर्णय सर्वोच्च अदालतले बदनियत भन्दै बदर गरिदिएपछि बालेनले निरन्तर आलोचना गर्ने गरेका छन् ओलीको।

निरन्तर झरीले शनिवार अधिकांश स्थानसँगै काठमाडौँ पनि अस्तव्यस्त भएसँगै खोला किनारमा रहेका सुकुम्वासी बस्ती जलमग्न भए। सुरक्षा निकायको सक्रियताले मानवीय क्षति हुनबाट जोगियो।

बालेनले खोला किनारको बस्ती खाली गर्न खोजेका थिए। तर सकेनन्। शनिवार त्यही विषयसँग गिरिबन्धु जोड्दै त्यता स्थानान्तरण गर्ने हो कि भनेर सटाएर हानेका थिए।

आइतबार बिहान भण्डारीले पनि बालेन शैलीमै सटाएर हाने, केही तयारी नगर्ने अनि अन्यलाई दोष दिएर उम्कन खोजेको भन्दै। बालेनले ओलीको नाम लेखे। भण्डारीले बालेनको नाम लेखेनन्।

उनले कमेडी च्याम्पियनको मुलपानीको स्टुडियोको आँगन डुबेको र त्यो ओलीको कारण भएको भन्दै ब्यङग्य कसे।

उनले लेखे ' अब स्टुडियोमा कर्मचारी थुनिएका छन्, हताहत भएका छन्। उनीहरू म माथि खनिनु अघि सबै दोष केपी ओलीमा हाल्दिने अनि चिल्डमा बस्ने।'

२ वर्षदेखि सबै थाहा हुँदाहुँदै आफूले गर्न चैँ केही नगरी मान्छे कराउने बेला भएपछि आफू जोगिन गाली अर्को लाई खुवाई दिने लेखे।

उनको प्रतिक्रियामा मिश्रित प्रतिक्रिया आइरहेका छन्। पहिला जस्तो एकोहोरो गाली छैन। कतिले उल्टो ब्यग्य कस्दै लेखेका छन्' कमेडी च्याम्पियन सिजन ३ डुबाउँछ भन्थे, डुबेछ।'

असार २२, २०८१ आइतबार १२:२१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।