अविरल वर्षाले देशभरका यी राजमार्ग अवरुद्ध

अविरल वर्षाले देशभरका यी राजमार्ग अवरुद्ध

काठमाडौं : शुक्रबार रातिदेखिको परेको अविरल वर्षाले देशका विभिन्न भागका राजमार्ग र सडक अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको रिपोर्ट अनुसार कान्ति लोकपथ सडक खण्ड र चित्लाङ मकवानपुर सडक खण्ड पहिरोले अवरुद्ध भएको छ। 

यस्तै, संखुवासभामा अविरल वर्षासँगै आएको बाढी-पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड पनि अवरुद्ध भएको हो। 

बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी-किमाथांका सडक ठप्प भएको छ। पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड पनि अवरुद्ध भएको छ। 

सडक अवरुद्ध हुँदा सुर्खेत-जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन्। यसैगरी जयपृथ्बी राजमार्ग अन्तर्गत बझाङ, दार्चुला, अछाम जोड्ने सडकखण्ड पनि अवरुद्ध  भएको छ। भिमफेदी काठमाडौं जोड्ने वीपी राजमार्ग पनि अवरुद्ध छ।

अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग भने अहिले पूर्ण रूपमा खुलेको छ। शुक्रबार रातीदेखि निरन्तर आइरहेको पानीले सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको थियो।

असार २१, २०८१ शनिबार १५:३५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।