देशका ३१ स्थानमा भारी वर्षा, यी नदीका तटीय क्षेत्रमा बाढीको जोखिम

देशका ३१ स्थानमा भारी वर्षा, यी नदीका तटीय क्षेत्रमा बाढीको जोखिम

काठमाडौं : जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले देशका विभिन्न ३१ स्थानमा भारी वर्षा भइरहेको जनाएको छ। शनिबार रातिदेखि भइरहेको वर्षाका कारण नारायणी, सप्तकोसीलगायत नदीको बहाव बढ्न थालेको विभागले जनाएको हो। 

त्रिवेणी गण्डक ब्यारेजमा शनिबार बिहान गरिएको मापन अनुसार पानीको बहाव एक लाख २९ हजार क्युसेक पुगेको छ।

पानीको बहाव बढ्दो क्रममा रहेकोले सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ। 

नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि नदी तटीय क्षेत्र नवलपरासी र चितवनको नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले आज साँझसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको हो। 

यस्तै, बागमतीमा पनि बाढीको जल सतह बढेको छ। लमजुङको विमल नगरमा मर्स्याङ्दी नदीमा १० मिटर बढी जल सतह बढेको छ।

आज र भोलि बागमती, नारायणी, कालीगण्डकी, मर्स्याङ्दी, बबई, पश्चिम राप्ती, महाकाली, पश्चिम सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकोले सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ।

असार २१, २०८१ शनिबार १४:५५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।