असारे झरीको प्रभाव : लुम्बिनी प्रदेशका मन्त्रालय नै डुबे, ठाउँ-ठाउँमा राजमार्ग अवरुद्ध

असारे झरीको प्रभाव : लुम्बिनी प्रदेशका मन्त्रालय नै डुबे, ठाउँ-ठाउँमा राजमार्ग अवरुद्ध

काठमाडौं : शुक्रबार बेलुकाबाट परिरहेको पानीका कारण काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थान डुबानमा परेका छन्। केही स्थानमा बस्तीमा बाढी पसेको छ। पहिरोका कारण सडक अवरुद्ध भएका छन् भने केही स्थानमा मानवीय क्षति समेत भएको छ।

पहिरोका कारण सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। स्याङ्जा-वालिङ सडकको भीरकोट-४ छाङ्छाङ्दी नजिक पहिरो जाँदा सवारीसाधनको आवागमन अवरुद्ध भएको छ। वालिङ-१ कालीमाटीमा समेत पहिरो खसेर सवारी आवागमन रोकिएको छ।

सिन्धुलीको सुनकोसी गाउँपालिका-२ कमिरेफाँटमा आएको पहिरोका कारण सडक अवरुद्ध भएको छ। राजमार्गमा पहिरोसँगै लेदो बगेर आएको छ।

मकवानपुरको इन्द्रसरोवर-२ छेपारेमा पहिरो खस्दा हेटौँडा-काठमाडौँ जोड्ने सिस्नेरी-दक्षिणकाली सडकखण्ड अवरुद्ध भयो। त्यहाँ ठूलै पहिरो गएकाले तत्काल बाटो खसल्ने सम्भावना देखिँदैन।

भीमफेदी-फाखेलतर्फको सडकमा पहिलो आउँदा यातायात चल्न सकेका छैनन्। इन्द्रसरोवर-५ महालक्ष्मी खोलामा पहिरो गएर भीमफेदी-फाखेल-मातातीर्थ सडकखण्डमा आवागमन रोकिएको छ।

कान्ति राजपथको ललितपुर खण्डमा समेत पहिरोले सडक अवरुद्ध गरेको छ। भट्टेडाँडा नजिक पनि पहिरो गएको छ।

पहिरोका कारण कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध छ। कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ।

यसैगरि सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि बीपी राजमार्गको सडक अवरुद्ध भएको हो।

लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ हावाडाँडा सडक माथिबाट पहिरो खस्दा बेसी शहर चामे सडक अवरुद्ध भयो। चामे गाउँपालिका-१ तिमाङ खोलामा आएको बाढीले यस अगाडि नै काठेपुल र मोटरेवल पुल बगाइसकेको छ। 

तुलसीपुर सडकखण्डको सेवारखोलाको डाइभर्सन बग्दा आवागमन रोकिएको छ।

बस्तीमा बाढी पस्दा एक बेपत्ता 
पर्साको वीरगन्ज महानगरपालिकाका छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाई बाढीमा डुबेका छन्।

भक्तपुरको हनुमन्ते खोलाको पानी नदीको सतह पार गरेर बस्तीमा पसेको छ। भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबेका छन्।

काठमाडौंका बागमती, विष्णुमती, धोबिखोला लगायतका नदीमा समेत पानीको बहाव उच्च छ। 

बाढीले लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरू डुबेका छन्न। राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पसेको छ। 

बाढीमा बगेर एक जना बेपत्ता 
दाङको राप्ती नदीमा आएको बाढीमा फसेका एक जना बेपत्ता भए। लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल भयो।  

दुध बेच्न लमही गएका राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने क्रममा बाढीमा बगेर बेपत्ता भए। सशस्त्र प्रहरीको टोलीले राजपुर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरे।

असार २१, २०८१ शनिबार १३:०३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।