सुधारवादी नेता मसूद पेजेस्कियान इरानको राष्ट्रपतिमा निर्वाचित

सुधारवादी नेता मसूद पेजेस्कियान इरानको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी : इरानको राष्ट्रपतीय निर्वाचनमा पश्चिमा देशहरूले सुधारवादी मानेका नेता मसुद पेजेस्कियान विजयी भएका छन्। उनले कट्टरपन्थी नेता सईद जलिलीलाई पराजित गरेका हुन्।

चुनावी नतिजा अनुसार हालसम्म गणना गरिएको तीन करोड मतमध्ये डा. मसुद पेजेस्कियानले ५३.३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ४४.३ प्रतिशत मत प्राप्त गरेका छन्।

जुन २८ मा भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाएका थिएनन्। त्यो समयमा इरानमा अहिलेसम्मकै सबैभन्दा कम ४० प्रतिशत मतदान भएको थियो।

इरानका पूर्वराष्ट्रपति इब्राहिम रायसीको राष्ट्रपति पदमा रहँदा यसै वर्षको मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।

इब्राहिम रायसी पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्कँदै गर्दा उनको हेलिकप्टर दुर्घटना भएको हो। उक्त दुर्घटनामा राष्ट्रपति र परराष्ट्रमन्त्री सहित नौ जनाको मृत्यु भएको थियो ।

त्यसपछि इरानमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो।

असार २१, २०८१ शनिबार १०:३०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।