एकीकृत समाजवादी : नयाँ महाधिवेशनबाट दोहोरिए पुरानै अनुहार, माधवलाई धक्का दिने घनश्यामको गफ मात्रै

एकीकृत समाजवादी : नयाँ महाधिवेशनबाट दोहोरिए पुरानै अनुहार, माधवलाई धक्का दिने घनश्यामको गफ मात्रै

काठमाडौं : एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत चुन्यो। पार्टी गठन भएको पहिलो महाधिवेशनले पुरानै अनुहारलाई अनुमोदन गरेको छ। 

बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन भए। झलनाथ खनाल सम्मानित नेता चयन भएका छन्। यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो। जबकी यी तिनै जना यसअघि पनि यथावत् पदमा कायम थिए। 

महासचिव घनश्यामले नेतृत्व पुस्तान्तरण हुनेपर्ने भन्दै अध्यक्ष्यमा दाबी गरेका थिए। उनको पक्षमा रामकुमारी झाँक्री, आरती लामा लगायतका नेताहरूले सार्वजनिक रूपमै कुरा उठाएका थिए। तर, अन्तिम समयमा आएर घनश्याम पछि हटे। 

त्यसअघि सम्मानित नेता झलनाथले पनि अध्यक्ष्यमा इच्छा नगरेका भने होइनन्। तर, पछिल्लो समय घनश्याम उठ्ने भएपछि उनलाई सघाउन तयार भएका थिए झलनाथ। अहिले उनी पुरानै पदमा फर्किए। 

प्रतिनिधिसभाको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम निर्वाचनमा पराजय बेहोरेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। तर, झलनाथ र माधव भने एमालेबाट विद्रोह गरेदेखि सँगै छन्। बुझिएअनुसार महाधिवेशन प्रतिनिधिहरूले नै चुनाव गर्न नहुने सुझाएपछि तीनै नेता सर्वसम्मत पुरानै पदमा रहेर काम गर्न तयार भएका हुन्। 

अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ। 

असार १९, २०८१ बिहीबार २०:४५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।