महामन्त्री मुकुलको प्रतिवेदनमा पार्टी सभापति रविबारे उठेका १० प्रश्न : सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ

महामन्त्री मुकुलको प्रतिवेदनमा पार्टी सभापति रविबारे उठेका १० प्रश्न : सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ

काठमाडौँ : समीक्षा यात्रामा उठेका भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको महासचिव मुकुल ढकालले प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेबारे १० प्रश्न उल्लेख गरेका छन्। 

उनले प्रश्नहरूबारे सभापतिबाटै उत्तर आउने भन्दै त्यसबारे विस्तृत उल्लेख गरेका छैनन्। सभापतिमाथि नै पहिलो पटक प्रश्न उठ्यो भन्दै उनले रविले शैली, उनको टिमका सदस्य लगायतकाबारे गम्भीर प्रश्न उल्लेख गरेका छन्। 

जनमत पार्टी सरकारमा सहभागी भए पनि उनी मन्त्री नबनेको तर पार्टी सभापति आफैँ गृहमन्त्री भएर किन गएको? भन्ने प्रश्न उठेको प्रतिवेदनमा उल्लेख छ। 

जीवी राई कहिले समातिन्छ भन्ने प्रश्नसँगै यदि समात्न नसकिने हो भने प्रतिपक्षमा रहँदा जीवी समात्नेबारे किन म्यादै तोकेको भनेर समेत प्रश्न उठेको छ। 

पार्टीमा ग्यालेक्सीकै टिम धेरै भएको भन्दै पार्टी नेता तथा समर्थकहरूले रविले अन्यलाई विश्वास गर्न नसकेको देखिएको टिप्पणी गरेको समेत प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदनमा पार्टी सभापतिले बोलीमा लगाम लगाउनु पर्ने सुझाव समेत आएको छ। सभापति रविले काम भइसकेपछि मात्र बोल्ने बानी विकास गर्नुपर्ने सुझाव प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ। 

जीवी राईका सन्दर्भमा बोलिएका बोली, आज पार्टीका लागि सबैभन्दा ठुलो चुनौती भएको उल्लेख गर्दै प्रतिवेदनमा 'तयारी र गुदी बिना आश्वासनका पुलिन्दा मात्र बाँड्दा तत्कालीन ताली त पाइयो होला , तर यसले पार्टीलाई क्षति मात्र गर्यो' लेखिएको छ। 

'आउने चुनावसम्म पार्टीका नेताको बोलिका क्लिप्सहरू जताततै बजाइने हुँदा त्यसले पार्ने असरको बारेमा अहिलेबाट सजग हुनपर्छ। बोल्नका लागि मात्र बोल्ने प्रवृत्तिले पार्टीलाई हानी बाहेक केही पनि गरेन। जवाफ दिने ठाउँमा पुग्दा हिजोका आफ्नै प्रश्नहरू आज पार्टीलाई भारी भएको छ। नेताहरूमा अध्ययन कम, विचार कम, काम कम तर बोली धेरै देखियो' प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा उल्लेख प्रश्नहरू 

-चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो ब्याकमा किन नबसेको ? 

-जिबि राई कहिले समातिन्छन् ? समात्न सकिदैनथ्ये भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ? 

-सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ । 

-सभापतिको सचिवालयमा मृदुभाषी भएनन्। यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीति सम्भव छैन। 

-किन ग्यालेक्सीको टिम धेरै भयो ? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो ? 

-सरकारमा गएपछि सोचे अनुरूप फाइल किन खोलिएन ? 

-निर्मला पन्तलाई न्याय कहिले मिल्छ ? 

-ब्लु बस र रोजगारीको कुरा कता पुग्यो ? 

-सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ । 

- सिधा कुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिराखेका छन् तर सभापतिले बिर्सिए जस्तो छ । पार्टीको मेरुदण्ड नै त्यही कार्यक्रम थियो। पार्टीमा सिधा कुरा जनतासँग कार्यक्रमका मान्छे सिधै केन्द्रमा र सभापतिको सचिवालयमै बसे तर तिनीहरूले पनि सिधा कुरा जनतासँग बिर्सिए र अर्कै राजनीति गर्न थाले। 

असार १९, २०८१ बिहीबार १८:५२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।