...त्यसपछि मुकुललाई लाग्यो- यहीबेला सभापति रविमाथि प्रहार गरेर सहानुभूति बटुल्न सकिन्छ!

...त्यसपछि मुकुललाई लाग्यो- यहीबेला सभापति रविमाथि प्रहार गरेर सहानुभूति बटुल्न सकिन्छ!

काठमाडौं : अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा मुकुल ढकाललाई पदबाट निलम्बन गर्यो। त्यतिमात्र होइन, पार्टीले उनलाई कारबाही नै गर्ने तयारी गरिरहेको रास्वपा स्रोत बताउँछ। रास्वपामा यस्तो परिदृश्य  निर्माण हुनुको पछाडिको कारण के त? यसबारे धेरैले धेरैथरी टिप्पणी गरिरहेका छन्। 

निलम्बनसम्मको परिस्थिति आउनुको कारण भने सभापति रवि लामिछाने र मुकुलबीचको असमझदारी नै पहिलो कारण बन्यो। गएको उपनिर्वाचनमा रास्वपाले जनपक्षीय काम गर्न नसकेकाले 'इलामका जनताले घन्टी बजाइदिएको' भन्ने अभिव्यक्ति दिएपछि मुकुलसँग रवि थप बिच्किए। त्यसपछि गृहमन्त्रीको रूपमा व्यस्त रहेका रविले  स्पेस नदिएपछि चिढिँदै गएका थिए मुकुल। 

रास्वपाको विवादबारे पार्टीको आन्तरिक कारणबाहेक अर्को कारण हो, मुकुलको बढ्दो महोत्वाकांक्षा। एक समय मिडियामा 'हट केक' बनेका मुकुल पछिल्लो समय हराए। मनिष झा, सन्तोष परियार, स्वर्णिम वाग्लेले उनको ठाउँ लिइदिएपछि उनी स्वाभाविकै चिढिने भइहाले। त्यसो त मुकुलले रविको सहकारी ठगीबारे आरोपमा बचाउ गरेनन् तर, मनिष, स्वर्णिम लगायत सांसदले भने सक्दो बचाउ गरे। त्यसैकारण पनि रविको नजरमा गिर्न थाले मुकुल। 

मुकुलले भुल्न नहुने के पनि हो भने, उनी रास्वपाकै ब्यानरबाट उदाएका पात्र हुन्। त्यसअघि उनी मेडिकल क्षेत्रमा थिए। तर, एक्कासि रास्वपाले उनलाई अनपेक्षाकृत लोकप्रियताको पगरी थमाइदियो। रविको सबैभन्दा विश्वास पात्रको रूपमा काम गरे। अझ रास्वपा सरकार गएपछि त पार्टीभित्र सबैभन्दा बढी चर्चाको पात्र उनै मुकुल बने। 

संसद्को चौथो ठूलो दलको महामन्त्रीको पदमा पुगेका मुकुलले उस्तोधेरै राजनीति बुझेको छैन भन्ने उनकै प्रतिवेदनले पुष्टि भयो। त्यसमा पनि सार्वजनिक रूपमा उनले भने- इन्तु, किन्तु, परन्तु केही नभनी प्रदेश खारेजीको पक्षमा लाग्नुपर्छ। यसबाट के पुष्टि भयो भने, उनी भीडको पक्षमा भुलिए। भीडलाई आफ्नो पक्षमा तान्न खोजे। र, अपरिपक्व अनि गैर-राजनीतिक प्रतिवेदन तयार गरे। 

भीडलाई आफूतिर तान्न उनले प्रतिवेदनको मात्र सहारा लिएर चित्त बुझाएनन्। सभापति रविमाथि नै प्रहार गरे। 

अहिले रविप्रति जनता निराश छन्। निराश मात्र नभएर आक्रोशित नै छन्। मुकुलले यही कुराको फाइदा उठाएर रविमाथि प्रहार गरे। उनलाई लाग्यो- रविमाथि प्रहार गर्ने र रविप्रति वितृष बनेका नागरिकको सहानुभूति बटुल्ने। उनको यो महत्वाकांक्षा एक तहसम्म सफल पनि भएको देखिन्छ। मिडियामा उनले अहिले थुप्रै स्पेस पाइरहेका छन्। 

बुधबार मुकुलले बोलेको एक भिडियो पोस्ट शेयर गर्दै एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले लेखेकी छन्- आइ एम विथ मुकुल। जहाँ मुकुलले भनेका छन्, ‘गोर्खा मिडिया नेटवर्कमा महामन्त्रीको पोजिसनमा हुनुहुन्थ्यो रवि लामिछाने, त्यहाँचाहिँ अध्यक्ष जिबी राईको गल्ती, पार्टीमा सभापति सबै महामन्त्रीको गल्ती? सत्तामा हुँदा प्रतिपक्ष दोषी, प्रतिपक्ष हुँदा सत्ता दोषी। मिडियामा हुँदा नेता दोषी, नेता हुँदा मिडिया दोषी। उहाँ जुन पदमा हुनुहुन्छ त्यो पदले कहिले गल्ती गर्दैन भन्ने हुन्छ।’

अहिले मुकुलले देखाएको व्यवहार र प्रस्तुति थुप्रैका लागि आश्चर्यजनक भएको भन्दै थुप्रैले टिप्पणी गरिरहेका छन्। उपसभापति डा. स्वर्णिम वाग्लेले हिजो बैठकपछि पत्रकारहरूसँग भने, ‘उहाँले असामान्य, असहज र अप्राकृतिक व्यवहार देखाउनुभयो, मैले चिनेको डा. मुकुल ढकाल यस्तो होइन।’

त्यतिमात्र होइन, ५२ सदस्यीय केन्द्रीय समितिमा कम्तीमा ५२ जनाले उनीमाथि कारबाहीको निर्णयमा हस्ताक्षर गरे। एकाधबाहेक कसैले पनि उनको बचाउ गर्न खोजेनन्। अझ बैठकपछि सोबिता गौतम, सन्तोष परियार, कविन्द्र बुर्लाकोटी लगायतले उनको शैलीको आलोचना नै गरे। 

रवि निकटका अनुसार मुकुल पार्टीका चार मन्त्रीहरूको लगाम आफ्नो हातमा राख्न चाहन्थे। उनीहरुलाई कमाण्ड गर्न खोजेका थिए। पार्टीका मन्त्रीहरूले साप्ताहिकरुपमा आफूलाई ब्रिफिङ गर्नुपर्ने नियम उनले बनाए पनि मन्त्रीहरूले टेरेनन्। यो मुकुललाई सैह्य भएन। त्यसपछि उनले मन्त्रीहरूले काम गर्न नसकेको सार्वजनिक टिप्पणी गर्न थाले।

यसलाई पुस्टि गर्नको लागि सामाजिक संजालबाट केन्द्रीय सदस्य टिका संग्रौलाले लेखेकी छन्, 'राम्रा व्यक्तिलाई पार्टीमा प्रदेश गराउनु पर्छ भन्दा कुरै नसुन्ने, मैले जे भन्यो त्यो भएन भने पार्टी सक्काइदिन्छु, पार्टीका असल इमानदार मान्छेहरूका बिरुद्द अनुशासन समितिलाई दबाब दिएर चिठी काट्न लगाउने, आफ्ना सांसद र मन्त्रीहरूलाई काबुमा राख्न नपाउँदा बर्बराउने, पार्टीमा म जस्तो जान्ने र शक्तिशाली कोहि छैन, अरु सबै बेवकुफ हुन भनेर नाक फुलाउँदै हिँड्ने अनि आफ्नै कारणले आफू सिद्धिने अवस्थामा आएपछि समीक्षा यात्राको हवाला दिएर मिडियामा पब्लिक सेन्टिमेन्ट आफूतिर तान्ने र सभापति लगायत हामी सबैलाई गलत देखाएर आफू सहि प्रमाणित गर्न खोज्ने लाजलाग्दो हर्कत गर्ने?'  

असार १९, २०८१ बिहीबार १८:०१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।