बिहारमा बुधबार एकैदिन पाँच पुल भत्कियो

बिहारमा बुधबार एकैदिन पाँच पुल भत्कियो

एजेन्सी : नेपालसँग सीमा जोडिएको भारतको उत्तरी प्रदेश बिहारमा बुधबार एकै दिन पाँच पुल भत्किएका छन्। योसँगै पछिल्लो दुई सातामा यहाँ नयाँ तथा पुराना गरेर १० भन्दा बढी पुलहरू भत्किएका छन्।

बुधबार भत्किनेमध्ये दुई पुल बसिवान जिल्लाको छडी नदीमा बनेका हुन्। पुलसम्म पुग्ने सडक पनि खोलाले बगाएका कारण यो पुल प्रयोग गर्न सकिने अवस्थामा छैन।

बुधबार नै प्रदेशको सारण जिल्लाको गण्डकी नदीमा बनेका दुईवटा पुल पनि भत्किएका छन्। यी पुलहरू भत्किँदा ठूलो संख्यामा स्थानीयहरू प्रभावित भएका छन्।

सिवानका जिल्लाका मजिस्ट्रेट मुकुलकुमार गुप्ताका अनुसार छादी खोलामा अन्य मौसममा पानी हुँदैन। बर्खामा मात्र पानी हुने उक्त नदीको पुल पनि ४५ वर्षअघि बनेको हो।

पुलको जगमा राखिएका इट्टाहरूलाई बर्खाको पानीले बगाउँदा पुल भत्किएको उनको भनाइ छ। यद्यपि मुकुल कुमारले सो क्षेत्रमा वैकल्पिक मार्ग भएकाले जनतालाई धेरै समस्या नपर्ने बताए।

छिमेकी जिल्ला सिवानको जनता बजार थाना क्षेत्रको सारण नामक गाउँमा बुधबार पनि दुईवटा पुल भत्किएका छन्।

स्थानीय पत्रकार अमित कुमार गुप्ताका अनुसार बुधवारको पहिलो भारी वर्षापछि यहाँ बाबा ढोलनाथ मन्दिर नजिकै सन् २००४ मा निर्माण गरिएको एउटा पुल भत्किएको हो।

करिब सात सय मिटरको दूरीमा सोही नदीमा बनेको अर्को पुल पनि भत्किएको उनले बताए। गुप्ताका अनुसार दोस्रो पुल बेलायतले शासन चलाएको बेला इस्ट इन्डिया कम्पनीले बनाएको थियो।

यी पुलहरू भत्किएको ठाउँबाट खोला पार गरेपछि करिब २ किलोमिटरको दूरीमा सिवान जिल्ला सुरु हुने उनको भनाइ छ। यस क्षेत्रका करिब २०-२५ गाउँको सिवानको ग्रामीण क्षेत्रसँग सम्पर्क विच्छेद भएको छ।

बिहारमा पुल भत्केको विषयलाई लिएर निरन्तर राजनीतिक आरोप-प्रत्यारोप पनि भइरहेका छन्।

असार १९, २०८१ बिहीबार ०७:४६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।