रास्वपाभित्र किन बढ्दैछ रवि-मुकुलको दूरी ?

रास्वपाभित्र किन बढ्दैछ रवि-मुकुलको दूरी ?

काठमाडौं : स्थापनापछि छोटै समयमा लोभलाग्दो प्रगति गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताको पछाडि सभापति रवि लामिछानेपछि अरू कसैको हात छ भने त्यो व्यक्ति महामन्त्री डा मुकुल ढकाल हुन्। एक समय सभापति लामिछानेलाई नीतिगत रूपमा सघाउदेखि अन्य सम्पूर्ण पार्टीको जिम्मेवारी बहन गरेका थिए मुकुलले।

कतिसम्म भने, मुकुलले रवि लामिछानेका हरेक अभिव्यक्ति आफ्नो काँधमा बोकेर हिँडे। पहिलोपटक गृहमन्त्रीबाट हट्दैगर्दा गर्दा '१२ भाइ' भाष्यसहित नेपालका मिडियाप्रति आलोचना गरेको बखत पनि त्यसको जिम्मेवारी मुकुलले लिए।

रास्वपा स्रोतका अनुसार त्यसबेला सभापति लामिछानेले आवेगमा आएर दिएको त्यस अभिव्यक्तिलाई आन्तरिक रूपमा ठीक नभएको भने पनि सार्वजनिक रूपमा भने 'सभापतिले बोलेको कुरा पार्टीकै विचार हो' सम्म भन्न भ्याए उनले। 

तर, अहिले पछिल्लो समयमा भने सभापति र महामन्त्रीको दूरी बढेको छ। खासगरी सहकारी प्रकरणमा गृहमन्त्री छँदै नाम जोडिएपछि मुकुलले खुलेर बचाउ गरेको देखिएन। बरु भर्खर कांग्रेसबाट आएका उपसभापति स्वर्णिम वाग्लेले रविको खरो  बचाउ गरे।

सह-प्रवक्ता मनिष झाले पनि सभापतिले गल्ती गरेको भए उनीसँगै सति जान तयार रहेको भन्दै बचाउ गरे। तर, महामन्त्रीका रूपमा मुकुलको आवाज मधुर सुनियो, कमसेकम सहकारी ठगीको आरोपमा रविलाई बचाउन। 

त्यसैबेलादेखि रवि र मुकुलको सम्बन्धमा चिसो पसेको देखियो। सभापति लामिछानेले मुकुलबाट अलि बढी नै अपेक्षा गरेको तर व्यवहारिक रूपमा त्यस्तो नपाएपछि यी दुईबीच दुरी बढ्न थाल्यो। आज बसेको केन्द्रीय समितिको बैठकसम्म आइपुग्दा त रविले मुकुललाई कारबाही गर्ने सम्मको परिस्थिति बनिसक्यो। जबकि त्यसअघि सम्म रविको सबैभन्दा विश्वासपात्र थिए, मुकुल। 

रास्वपाको क्रेज भनेको बाहिरी रूपमा रविको लोकप्रियता थियो भने आन्तरिक तवरमा मुकुलले व्यवस्थापन गर्थे। सांसद कसलाई बनाउने, कसलाई कुन जिम्मेवारी दिने, मिडियामा कसरी प्रस्तुत हुने, विभिन्न काण्डहरूमा फसेका सभापतिलाई कसरी बचाउने मुकुलले नै हेर्थे।

इलाम उपनिर्वाचनको नतिजापछि ३९ जिल्ला सक्काएर फर्किएपछि उनको अलग रुप देखियो। उनले पार्टी सभापतिलाई प्रतिवेदन बुझाएपछि मिडियासामु अलग रुपमा पेश भए। प्राय पार्टीको आलोचना ढाकछोप गर्नमै केन्द्रित हुने उनी पार्टीकै कमजोरी सार्वजनिक गरे।

३९ जिल्ला घुमेर तयार गरेको प्रतिवेदन वास्तविक धरातलमा आधारित भएको र त्यसलाई मनन गर्दै पार्टी अघि बढ्नुपर्ने उनको राय थियो। त्यही अनुरूप उनले आफ्नो प्रतिवेदनका मुख्य विषय सार्वजनिक गरे पनि। तर, त्यो कुरा रवि, उपसभापति डोलप्रसाद अर्याल लगायतलाई मन परेन। मुकुललाई कारबाही गर्नुपर्छ भन्नेसम्मका अभिव्यक्ति आएपछि मुकुल झन् बिच्किए। 

पार्टीको आन्तरिक विषय आफूलाई जानकारी नै नदिइ सार्वजनिक गरेको भन्दै रविको मुकुलसँग चित्त दुखाइ रह्यो भने अर्कोतर्फ अन्य नेताहरूको उक्साहटमा रवि स्वयंम आफूलाई कारबाही गर्न तम्सिएको बुझेपछि मुकुलको पनि चित्त दुख्ने भइहाल्यो। 

त्यसैमा उनीमाथि निरन्तर ब्यक्तीगत जीवनमाथि प्रहार बढ्यो। केन्द्रीय सदस्य गणेश कार्कीले उनीमाथि निरन्तर प्रेमिकालाई सांसद बनाएको आरोप लगाइरहे। पार्टी मौन बस्यो।

त्यसमा केन्द्रीय समिति बैठकमा आफूलाई कारबाही हुनसक्ने पहिल्यै आँकलन गरेका मुकुलले बैठक लाइभ गर्न रविसँग माग गरेका थिए। तर, उनको त्यो ह्वाट्सएप मेसेजको जवाफसम्म दिएनन् रविले। यही विन्दुबाट यी दुईबीचमा थप दुरी बढ्यो।

जानकारहरूका अनुसार रविले पनि मुकुललाई कारबाही नै गर्न चाहेका भने छैनन्। आफ्नो कठिन समयमा साथ दिएको भन्दै आज मुकुललाई मौका दिने पक्षमा थिए रवि। तर, परिस्थिति त्यस्तो बनेन। मुकुललाई कारबाही गर्नुपर्ने स्वर चर्को देखिएपछि सभापतिका रूपमा रविले निर्णय लिनै सकेनन्। 

बैठकमा उपसभापतिद्वय अर्याल र स्वर्णिम वाग्लेले आफूलाई महामन्त्री नस्विकार्ने बताएपछि बैठक छाडेर हिँडेका मुकुलले पत्रकारहरूसंग कुरा गर्दै रविमाथि पनि प्रश्न तेर्स्याए। वाग्ले र अर्यालको कुरामा साथ दिएको भन्दै चित्त दुखाएका मुकुलले सभापति सर्वेसर्वा हुन थालेको आरोप लगाए। 

‘महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँदैछ। उहाँ गोर्खा मिडिया नेटवर्कमा महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो। त्यहाँ चाहिँ अध्यक्ष जिवी राईको सबै गल्ती भन्नुहुन्छ। पार्टी चाहिँ महामन्त्रीको सबै गल्ती देखाउनुहुन्छ। उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ती गर्दैन भनेजस्तो भयो।’

असार १८, २०८१ बुधबार २२:२१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।