एमाले मन्त्रीसामु भावुक हुँदै प्रचण्डले गीत सुनाए’ यस्तो पनि हुँदो रैछ जीन्दगीमा कहिले कहिले, कसैलाई माया गर्ने एउटा भूल गरेँ मैले’

एमाले मन्त्रीसामु भावुक हुँदै प्रचण्डले गीत सुनाए’ यस्तो पनि हुँदो रैछ जीन्दगीमा कहिले कहिले, कसैलाई माया गर्ने एउटा भूल गरेँ मैले’

काठमाडौँ : राजीनामा दिन गरेको आग्रह अस्विकार गरेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने पार्टीको निर्णय अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका मन्त्रीहरू सामु फत्तेमान राज राजभण्डारीको गीत ‘यस्तो पनि हुँदो रैछ’ गीत सुनाएर पठाए।

भेटमा सहभागी एक मन्त्रीका अनुसार प्रचण्ड निकै भावुक देखिएका थिए। उनले धेरै बोल्न चाहेनन्। मन्त्रीहरूले एक-एक गरेर राजीनामा बुझाएपछि उनले गीतको एक लाइन सुनाउँदै भोलि बिहीबार राजीनामा स्वीकृत गर्ने बताए। माहौल गम्भीर भएपछि एमालेका मन्त्रीहरू पनि धेरै समय बसेनन्। उनले सरकारमा सहकार्य गर्ने अवसरका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिएर बाहिर निस्किए।

२०७९ मंसिर ४ को निर्वाचन परिणामपछि पहिलो चरणमा प्रधानमन्त्री स्विकार नगरेको भन्दै प्रचण्डले एमालेसहितको दलसँग मिलेर सरकार बनाएका थिए। तर बिचैमा एमालेलाई धोका दिएर उनी पुन कांग्रेससँग गठबन्धन गर्न आइपुगेका थिए।

कांग्रेससँगको गठबन्धनमा गम्भीर खट्पट् नहुँदै राष्ट्रिय सभाको अध्यक्षमा सहमति र कांग्रेसको दस्तावेजमा माओवादी केन्द्रबारे उल्लेख गरिएका विषयको बहाना बनाउँदै उनी पुन कांग्रेसलाई पत्तै नदिई एमालेसँग सहकार्य गर्न पुगेका थिए।

यस अगाडि उनले जसरी कांग्रेसलाई चक्मा दिएर एमालेसहितको गठबन्धन बनाएका थिए त्यसरी नै एमाले र कांग्रेसले पत्तै नदिई गठबन्धन बनाएर उनलाई चक्मा दिएका थिए।

कांग्रेस र एमालेबीच बाँकी अवधि सरकारको नेतृत्व बाँडफाँडमा लिखित सहमति भएसँगै दुबै दलले राजीनामा दिन गरेको आग्रह उनले स्विकार गरेका छैनन्। उनी सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिने पक्षमा देखिएका छन्।

तर कांग्रेस र एमालेमध्ये कुनै दल उनको समर्थनमा नउभिएसम्म उनले सरकार जोगाउन आवश्यक १३८ मत पाउन सक्दैनन्।

राजिनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डसँग सामुहिक तस्बिर खिचाउँदै एमाले सांसदहरु।यस अगाडि कांग्रेससँग गठबन्धन भत्कनुमा कांग्रेसलाई नै दोष दिएका उनले यसपालि सार्वजनिक रुपमा एमालेलाई दोष दिएका छैनन्। तर माओवादीका नेताहरूले भने राजनीतिक बेइमानी भएको आरोप लगाइरहेका छन्।

उता एमालेले बैठकबाटै एमालेसँग सत्ता सहकार्यमा रहेकै बेलामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सरकार गठनको बहानामा कांग्रेससँग संवाद शुरु गरेर अविश्वासको वातावरण बनाएको दाबी गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएर फर्किएपछि प्रचण्ड राष्ट्रिय सरकार गठन गर्ने भन्दै कांग्रेससँग छलफल शुरु गरेर एमालेबिना अर्को गठबन्धन बनाउने गृहकार्यमा लागेपछि कांग्रेस र एमालेबीच सरकार गठनको सहमति भएको एमाले नेता प्रदीप ज्ञवालीले दाबी गरेका थिए।

माओवादी केन्द्रका नेता वर्षमान पुनले माओवादीलाई सरकार बाहिर राख्न एमाले र कांग्रेसले गरेको निर्णयको जवाफ दिन सक्नुपर्ने तर्क गरेका थिए।

असार १८, २०८१ बुधबार २०:५०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।