रवि, डिपी र स्वर्णिम आफूविरुद्ध खनिएपछि बैठक नसकिँदै छोडेर हिँडे रास्वपा महामन्त्री ढकाल

रवि, डिपी र स्वर्णिम आफूविरुद्ध खनिएपछि बैठक नसकिँदै छोडेर हिँडे रास्वपा महामन्त्री ढकाल

काठमाडौं : आफूलाई बैठकमा ह्यारेसमेन्ट गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल पार्टीको जारी केन्द्रीय समिति बैठक नसकिँदै बाहिरिएका छन्। उनले बैठक छाडेर निस्किएपछि केहीबेरका लागि बैठक नै स्थगित भएको छ। 

बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै ढकालले बैठकमा आफूलाई जबर्जस्त बोल्न कर गरेर ह्यारेसमेन्ट गरिएको बताए।दुई उपसभापति स्वर्णिम वाग्ले र डोल प्रसाद अर्यालले आफूमाथि महामन्त्री मान्दैनौं भनेपछि ढकाल जँगिए। 

‘उहाँहरूले मलाई ह्यारेसमेन्ट गर्नुभयो। दुईजना उपसभापतिले आजबाट महामन्त्री मान्दैनौं भन्नुभयो। मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो। एउटा राजनीतिक प्राणीको रुपमा मैले विरोध जनाएको हो। बोल कि बोल भन्न पाईंदैन। राजनीतिक तरिकाले बुझ्नुपर्छ। एउटा व्यक्ति जसले गलत कुराको विरोध गर्यो, त्यसलाई कारवाहीको प्रक्रिया अगाडि बढाइन्छ भने अब पार्टी प्रतिपक्ष बन्दैछ, कुन नैतिकताको आधारमा प्रतिपक्षमा बस्छ? मलाई पार्टीको चिन्ता छ,’ उनले भने। 

बैठकमा सभापति रवि लामिछानेले सबै दोष आफूलाई मात्रै दिएको उनको आरोप छ। 

उनले भने, ‘महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँदैछ। उहाँ गोर्खा मिडिया नेटवर्कमा महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो। त्यहाँ चाहिँ अध्यक्ष जिवी राईको सबै गल्ती भन्नुहुन्छ। पार्टी चाहिँ महामन्त्रीको सबै गल्ती देखाउनुहुन्छ। उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ती गर्दैन भनेजस्तो भयो।’

महामन्त्री ढकालले आफू अन्यायमा परेको, सही तरिकाले पार्टी सञ्चालन नभएको, सभापति रवि लामिछानेको प्रवृत्ति ठिक नभएकोसहितका विषय उठाएका थिए। 

उप निर्वाचन सकिएपछि देश दौडाहमा निस्केका ढकालले ३९ जिल्ला घुमेर एक समीक्षा प्रतिवेदन तयार गरेका थिए। त्यसै प्रतिवेदनमाथि छलफल गर्न रास्वपाको बैठक बुधबार बिहानबाट बसिरहेको छ।

असार १८, २०८१ बुधबार २०:३८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।